सहकार्य थालेको दुई महिनामै धवलशम्शेर र दुर्गा प्रसाईं छुट्टिए

 संवाददाता    २०८३, २९ श्रावण शुक्रबार ११:२८     11 जनाले पढ़िसके



Spread the love

नयाँ पार्टी निर्माणका लागि एक ठाउँमा उभिएका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईबीच दुई महिनामै विभाजन आएको छ । धवल समूहले आज निर्वाचन आयोगमा पार्टी दर्ता गर्दैछन् भने दुर्गा प्रसाईं अर्कै तयारीमा लागेका छन् ।

राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने गरी ‘जय नेपाल पार्टी’ गठन गर्ने सहमति जुटेको थियो । तर पार्टीमा को शक्तिशाली हुने भन्नेमा हानाथाप सुरू भयो । प्रसाईंले पार्टीको पहिलो वरीयतामा आफू रहनुपर्ने र कार्यकारी अधिकार बाँडफाँड हुनुपर्ने माग राखेका थिए । त्यसमा राणापक्ष सहमत भएन ।

विवाद बढिरहेकै बेला प्रसाईंले एक युट्यूव च्यानललाई अन्तर्वार्ता दिँदै राणामाथि खनिएपछि सहमतिको सम्भावना टरेको हो । प्रसाईं समूहका थुप्रै नेताहरू मिल्ने पक्षमा नै थिए । तर पार्टी दर्ता अलि दिनपछि गरौं भन्ने उनीहरुको प्रस्ताव थियो । तर राणा पक्षले घोषित मितिमै दर्ता गर्ने अडान लिएपछि प्रसाईं पक्ष रोकिएको छ ।

प्रसाईं समूहका नेता माधव कल्पितले आफूहरु एकताकै पक्षमा रहे पनि आजै पार्टी दर्ता गर्ने अडानले गर्दा विभाजनको स्थिति आएको बताए । यतिबेला आफूहरु लघुवित्त र मिटरब्याज पिडितहरुलाई न्याय दिने काममा व्यस्त रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी मान्छे बचाउन लागेका छौं, उनीहरूलाई नेता बन्न हतार भएको छ । आज राम्रो साइत छैन भनेर हामीले भन्दाभन्दै उहाँहरूले दर्ता गरेरै छाड्ने भन्नुभयो । नमिलेपछि कसरी सहयात्रा हुन्छ ? अब दुर्गा प्रसाईंको नेतृत्वमा अर्कै पार्टी बन्छ ।’

प्रसाईंले आज फेसबुकमा स्टाटस लेख्दै अर्कै पार्टी बनाउने संकेत गरेका छन् । केही समयपछि नयाँ पार्टी खुल्ने भन्दै उनले धैर्य गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिकहरूको, सबै जातजाति र सबै धर्मको साझा पार्टी बन्नेछ । वैदिक सनातनी हिन्दु अधिराज्यसहितको यो पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ । केही समय धैर्य गर्नुहोला । तपाईँ हाम्रो पार्टी छिट्टै खुल्नेछ ।’

यसअघि जय नेपाल पार्टीमा १०१ जनाको जनाको केन्द्रीय कमिटी बनाउने तयारी भएको थियो । त्यसमा धवलपक्षका ४०, प्रसाईं पक्षका ४० र २० जना दुवै समूहमा नरहेकालाई राख्ने सहमति भएको थियो । तर प्रसाईं पक्षसँगको सहमित तोडिएपछि धवल पक्षका नेताहरु मात्रै समेटेर केन्द्रीय कमिटी बनाइएको छ ।

पार्टीका प्रस्तावित अध्यक्ष राणाकी प्रेस संयोजक राधिका जोशीले प्रसाईं पक्षसँग संवाद भइरहेको दाबी गरिन् ।

उनले भनिन्, ‘आज पार्टी दर्तामा उहाँहरु आउनुहुन्न, अलि पछि जोडिने कुरा गर्नुभएको छ ।’