म्याग्दीमा पहिरोले विद्युत् गृह पुरिँदा एकजना सुरक्षा गार्ड बेपत्ता भएका छन्। अर्का एक कामदारलाई घाइते अवस्थामा उद्धार गरिएको छ।
अन्नपूर्ण गाउँपालिका–६ घारको पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिएको प्रहरीले जनाएको छ।
गएराति करिब ३ बजे विद्युतगृहको पछाडि रहेको ल्यासीको भीरबाट पहिरो खस्दा विद्युत गृहमा क्षति पुगेको हो।
विद्युत् गृह पुरिएपछि आयोजनाको सुरक्षार्थ खटिएका अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल (दिपक) सम्पर्कविहीन भएका छन्। गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विकलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
घटनाको जानकारीपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
हाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए।
घाइते विकलाई प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको छ।
पहिरोले विद्युतगृहको केही भाग पनि पुरिएको छ।
माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर विद्युत् गृह पुरिएको हो। पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेको छ।
अहिले घारखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ।