अमेरिकासामु इरानको ५ बुँदे प्रस्ताव, हर्मुज जलमार्ग खोल्न राख्यो यस्तो सर्त

 संवाददाता    २०८३, २४ श्रावण आईतवार १३:५५     31 जनाले पढ़िसके



Spread the love

हर्मुज जलमार्ग खोल्न इरानले अमेरिकासमक्ष ५ सर्त राखेको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बागेर जोल्घादरले अमेरिकाले आफ्ना ५ वटा माग पूरा नगरेसम्म हर्मुज स्ट्रेट फेरि नखोलिने बताएका हुन्।

बीबीसी फारसीका अनुसार यी मागमा इरानविरुद्धको प्रतिबन्ध खुकुलो पारिनुपर्ने, युद्धबाट भएको क्षति भर्नुपर्ने, इरानी बन्दरगाहमा गरिएको अमेरिकी नाकाबन्दी तत्काल हटाइनुपर्ने, इरानविरुद्धको धम्की दिन छाड्नुपर्ने र कब्जा गरिएको इरानको सम्पत्ति फिर्ता गरिनुपर्ने छन्।

विश्लेषकहरूका अनुसार जोल्घादरले इरानका अघिल्ला माग नै धेरै हदसम्म दोहोर्‍याएका छन्, तर यसले हर्मुजका विषयमा कडा अडानको संकेत गर्छ।

इरान र ओमानबिच हर्मुजका विषयमा नयाँ व्यवस्थाबारे सहमति भएको परिप्रेक्ष्यमा उक्त वक्तव्य आएको हो।

इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानसँगको वार्ता अन्तिम चरणमा रहेको बताएका छन्, तर उनले सम्झौतामा पुग्नुको अर्थ हर्मुज तुरुन्तै खोल्नु नभएको बताएका छन्।

उनले भनेका छन्, ‘जलमार्ग फेरि खोल्नु अन्य सर्तको अधीनमा छ।’

यसअघि समाचार एजेन्सी रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरान र ओमानबिच होर्मुजबारे वार्तामा प्रगति भएको र अमेरिकाले चाँडै सम्झौता हुने आशा राखेको उल्लेख गरेको थियो।

अधिकारीका अनुसार हर्मुजबाट व्यावसायिक जहाजहरूको निर्बाध आवतजावत ग्यारेन्टी गर्ने सम्झौता घोषणा भएपछि मात्र अमेरिकाले इरानी बन्दरगाहमा गरिएको नाकाबन्दी हटाउनेछ।