राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्रीहरू र आम नागरिकबीच प्रत्यक्ष संवाद गराउन नयाँ कार्यक्रमको घोषणा गरेको छ। रास्वपाले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक कार्यक्रम सुरु गर्न लागेको हो।
रास्वपा सहमहामन्त्री असिम शाहद्वारा जारी विज्ञप्ति अनुसार, यो कार्यक्रम अन्तर्गत सरकारमा रहेका रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
भुइँमान्छेका आवाजलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले पुलको काम गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यो कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । जसमा साँझ ५:०० देखि ६:०० बजेसम्म नागरिक संवादअन्तर्गत नागरिकका लागि खुला रहनेछ । यस अवधिमा मन्त्रीले सीधै सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा र सुझाव सुन्ने छन् ।
साँझ ६:०० बजेपछिको नेतृत्व संवादमा मन्त्री, पार्टीका केन्द्रीय सदस्यहरू र सांसदबीच संयुक्त बैठक बस्नेछ। यस बैठकमा नागरिकबाट प्राप्त सुझाव र देशका समसामयिक एवं नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने बताइएको छ ।
मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने र नागरिकका वास्तविक समस्या बुझेर यथार्थपरक राष्ट्रिय नीति एवं कानुन निर्माणमा जोड दिने लक्ष्य राखेको रास्वपाको भनाइ छ ।
साथै, नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीचको समन्वयलाई थप चुस्त र प्रभावकारी बनाउनु अर्को मूल उद्देश्य राखिएको छ ।