आईएचजीका ५ ब्रान्ड नेपालमा भित्रिँदै, १० होटलमा ३४ अर्ब लगानी

 संवाददाता    २०८३, २४ श्रावण आईतवार १३:०९     19 जनाले पढ़िसके



Spread the love

विश्वकै अग्रणी र प्रतिष्ठित बहुराष्ट्रिय हस्पिटालिटी कम्पनीहरूमध्येको एक इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी)को उपस्थिति नेपालमा बढेको छ।

आईएचजी आतिथ्य उद्योगमा बेलायतको ब्रान्ड हो। तर, आईएचजीको छाताभित्र रहेका होलिडे इन, क्राउन प्लाजा र क्रिम्टन भने अमेरिकामा विकास भएर विश्वभर विस्तार भएका हुन्।

आईएचजीको प्रिमियम ब्रान्ड क्राउन प्लाजाले नेपालको सबैभन्दा पुरानो पाँचतारे होटल सोल्टीको व्यवस्थापन २६ वर्षसम्म सम्हालेको थियो।

कोरोना महामारीपछि सन् २०२१ मा क्राउन प्लाजा सोल्टी होटलबाट बाहिरियो।

त्यसयताको आधा दशकमा नेपालमा आईएचजीको करिब एक दर्जन ब्रान्ड विस्तार हुने निश्चित भएको छ।

अहिले आईएचजीको लक्जरी तथा लाइफस्टाइल क्याटगोरीको इन्टरकन्टिनेन्टल र होटल इन्डिगो, प्रिमियम क्याटगोरीको क्राउन प्लाजा, इसेन्सिएल्सअन्तर्गतको होलिडे इन एक्सप्रेस र होलिडे इन ब्रान्डमा कतिपय होटल सञ्चालनमा आइसकेका छन भने कतिपय सञ्चालनको तयारीमा छन्।

अहिले निर्माण भइरहेका होटल तथा रिसोर्ट सञ्चालनमा आउँदा आईएचजीअन्तर्गतका ५ ब्रान्डमा १० वटा होटल तथा रिसोर्ट नेपालमा सञ्चालन हुनेछन्। ती होटल तथा रिसोर्टमा भएको लगानी ३४ अर्ब ५० करोड रुपैयाँ पुग्ने देखिएको छ।

आईएचजीअन्तर्गतका सबै होटल तथा रिसोर्ट पूर्ण सञ्चालनमा आउँदा करिब एक हजार जनाले रोजगारी पाउनेछन्।

रिसोर्टअन्तर्गत नेपालमा आईएचजीको पहिलो पाँचतारे रिसोर्ट हो– होलिडे इन बूढानीलकण्ठ। पूर्वमन्त्री तथा व्यवसायी दीपक खड्काले उक्त ब्रान्ड नेपाल ल्याएका हुन्। होटल फरेस्ट इन लिमिटेडले प्रवर्द्धन गरेको यो रिसोर्ट सन् २०२४ को अक्टोबर ९ देखि सञ्चालमा आएको रिसोर्टका सेल्स डाइरेक्टर विख्यात राणाले बताए।

उक्त रिसोर्ट साढे ३ अर्ब लगानीमा निर्माण भएको हो। होलिडे इन रिसोर्टमा ३३ वटा स्ट्यान्डर्ड र ५९ वटा प्रिमियम कि (रुम) छन्। त्यसबाहेक एउटा र दुईवटा बेडरूमको सुइट ६/६ वटा छन्। होटलका सबैभन्दा सानो कोठाको क्षेत्रफल नै ३३ स्क्वायर फिट छ।

काठमाडौंको नक्सालमा २०८० मंसिरबाट सञ्चालनमा आएको आईएचजीअन्तर्गतको अर्को होटल हो– होलिडे इन एक्सप्रेस। हस्तकला क्षेत्रका व्यवसायीहरु नरेशलाल श्रेष्ठ, महेश्वर श्रेष्ठ र सुजित श्रेष्ठले २ अर्ब रुपैयाँको लगानीमा उक्त होटल सञ्चालनमा ल्याएका हुन्।

आईएचजीको ‘होलिडे इन एक्सप्रेस’ ब्रान्ड सोही होटलबाट पहिलोपटक नेपाल भित्रिएको हो।

होटलमा एक सयवटा कोठा छन्। करिब दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा दुईवटा बैंक्वेट हल र दुईवटा रेस्टुरेन्ट छन्।

आईएचजीको प्रिमियम ब्रान्ड क्राउन प्लाजा ललितपुर र रुपन्देहीमा सञ्चालनमा आउने तयारीमा छ।

सीजी होटल्स एन्ड रिसोर्टले लतिपुरको पुल्चोकमा पाँचतारे होटल क्राउन प्लाजा काठमाडौं पुल्चोक सञ्चालनमा ल्याउने तयारी गरेको छ। आगामी असोजबाट सञ्चालन आउने भनिएको उक्त होटलको निर्माणकार्य अन्तिम चरणमा छ।

उक्त होटल निर्माण सुरु भएको ७ वर्षपछि सञ्चालनको लागि तयार हुनलागेको हो। २०७६ वैशाखमा शिलान्यास गरिएको यो होटल कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीको मारमा परेको थियो। होटलमा १७५ वटा कोठाहरु छन्। तीमध्ये एउटा प्रेसिडेन्टल सुइट, ४ वटा एक्जुकेटिभ सुइट, ८ वटा जुनियर सुइट, २ वटा अपांगमैत्री कोठा, ६२ वटा स्ट्यान्डर्ड टुइन र ९८ वटा स्ट्यान्डर्ड किङ साइजका कोठाहरू रहेको होटलका महाप्रबन्धक जयदेव दत्तले जानकारी दिए।

९ रोपनी क्षेत्रफलमा फैलिएको होटलको सुरुवाती लगानी २ अर्ब ५५ करोड अनुमान गरिएको थियो। तर, अहिले भने लगानी बढेर ३ अर्ब हाराहारी पुगेको होटल व्यवस्थापनले बताएको छ।

उता रुपन्देहीमा भने लुम्बिनी हेरिटेज लिमिटेडले क्राउन प्लाजा ब्रान्डमा होटल सञ्चालन गर्न लागको हो। हाल लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी हेरिटेज होटललाई पुनः ब्रान्डिङ गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिने गरी काम भइरहेको छ। लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्य र आईएचजी होटल्स एन्ड रिसोर्ट्सका दक्षिण पश्चिम एसियाका प्रबन्धनिर्देशक सुदीप जैनले उक्त ब्रान्डमा रुपन्देहीमा होटल सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।

यसअघि ‘पवन प्यालेस लुम्बिनी’का नाममा सञ्चालनमा रहेको यो होटललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनः रूपान्तरण गरिएको थियो। क्राउन प्लाजा ब्रान्डमा सञ्चालन हुने उक्त होटलमा कुल १४७ कोठा हुनेछन्। जसमा ७ सुइट रूमसहित, आधुनिक बहुउद्देश्यीय हल, रेष्टुरेन्ट फिटनेस सेन्टर, स्विमिङ पुल र अन्य प्रिमियम सुविधा रहनेछन्। यो होटल गौतम बुद्धको जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ९ किलोमिटर दूरीमा अवस्थित छ।

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल होलिडे इन निर्माणको क्रममा छ। क्लब चौलानी लिमिटेडले आईएचजीको इसेन्सियल ब्रान्डको होटल सञ्चालनमा ल्याउन लागेको हो।

होटल ‘होलिडे इन’ सञ्चालनका लागि होटल व्यवस्थापनसम्बन्धी सम्झौतामा क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र केसी र आईएचजी होटल्सका तर्फबाट दक्षिण एसियाका प्रबन्धनिर्देशक सुदीप जैनले हस्ताक्षर गरेका थिए।

करिब २ अर्ब ५० करोड रुपैयाँको लगानीमा धनगढीमा निर्माण भइरहेको यो होटल २०८४ देखि सञ्चालनमा आउने भनिएको छ। होटलमा कुल ११५ कोठा हुनेछन्। यो होटल धनगढी विमानस्थलबाट करिब ८.५ किलोमिटरको दूरीमा निर्माण भइरहेको छ।

नेता दीपक खड्काले नै झापाको धुलाबारीमा होलिडे इन एक्सप्रेस एन्ड सुइट निर्माण सुरु गरेका थिए। अहिले उनले उक्त होटलको करिब ७ प्रतिशत सेयर बाँकी राखेर अरू सेयर बिक्री गरेका छन्।

अहिले राजेश कुमार सोनीको नेतृत्वको होटल निर्माणको काम भइरहेको छ। करिब ९५ प्रतिशत निर्माणको काम सकिएको उक्त होटल आगामी असोजबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको खड्काले बताए। उक्त होटल करिब ३ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको हो। नेपाली पूर्वी भू–भागमा आईएचजीको यो पहिलो ब्रान्ड हो।

आईएचजीको लक्जरी एन्ड लाइफस्टाइल क्याटगोरीको इन्टरकन्टिनेन्टल ब्रान्डमा सांग्रिला ग्रुपले काठमाडौं, पोखरा र चितवनमा होटल सञ्चालनको तयारी गरेको छ। सोही ग्रुपले आईएचजीकै बुटिक लाइफस्टाइल ब्रान्ड होटल इन्डिगो पोखराको लेकसाइडमा सञ्चालनमा ल्याउन लागेको हो।

यसअघि लाजिम्पाटमा सञ्चालनमा रहेको सांग्रिला होटललाई इन्टरकन्टिनेन्टल ब्रान्डमा रुपान्तरण गरेर सञ्चालन ल्याउने गरी काम भइरहेको सांग्रिला ग्रुपका प्रबन्धनिर्देशक प्रविण पाण्डेले जानकारी दिए।

पोखराको बेगनासमा बनिरहेको इन्टरकन्टिनेन्टल होटल आगामी महिनामै लन्च गर्ने तयारी रहेको उनले बताए। चितवनमा आगामी माघ वा फागुनमा र काठमाडौंको होटल भने डिजाइनको क्रममा रहेको पाण्डेले बताए।

सांग्रिला ग्रुपले चितवन र पोखरामा सञ्चालन गर्न लागेको इन्टरकन्टिनेन्टल ब्रान्ड रिसोर्ट क्याटगोरीमा हो।

पोखरामा सञ्चालनमा रहेको इन्डिगो, काठमाडौं, चितवन र पोखराको इन्टरकन्टिनेन्टल ब्रान्डका होटल पूर्ण रुपमा सञ्चालनमा आउँदा करिब १८ अर्ब रुपैयाँसम्म लगानी हुने पूर्वानुमान रहेको पाण्डेले बताए।

चितवन र बेगनासमा बनिरहेको इन्टरकन्टिनेन्टल रिसोर्टलाई दुई चरणमा लन्च गर्ने तयारी रहेको उनले बताए।

सुरुमा ४० कि (कोठा)बाट रिसोर्ट सुरु गर्ने र दोस्रो चरणमा अर्को ४० कोठा सञ्चालनमा ल्याउने उनले बताए।

पोखराकै होटल इन्डिगोमा भने १०० वटा कोठा रहनेछ। काठमाडौंमा पाँचतारे इन्टरकन्टिनेन्टल काठमाडौं तयार हुँदा अर्को २०० कोठा थपिने उनले बताए।

सांग्रिला ग्रुपले तयारी गरेको सबै होटल तथा रिसोर्ट सञ्चालनमा आउँदा कुल ४६० कोठा प्रयोग हुनेछ।