नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेलामा एक हजार ३५९ जना सहभागी हुने भएका छन्।
यही साउन २० गते राजधानीमा हुन लागेको राष्ट्रिय भेलामा सहभागी हुन एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराएका नेता नैनसिंह महरले जानकारी दिए।
आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व केन्द्रीय सदस्य महरले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता कमजोर हुने गरेकाले कांग्रेसलाई एक बनाउन दबाब दिने उद्देश्यले साउन २० गते भेला गर्न लागिएको दाबी गरे।
यस्तै, राष्ट्रियसभा सदस्य समेत रहेका कांग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र शनिबार चुनदेवीको पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिएका डा शशाङ्क कोइराला पार्टी एक बनाउन लाग्नुपर्ने बताए।
कार्यक्रममा तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले कांग्रेस एक बनाएर देश र कांग्रेस जोड्ने अभियानमा साथ दिन देशभरका जनप्रतिनिधिलाई आग्रह गरे।