पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी दिवंगत पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को शव भेटिएको छ।
शव भेटिएपछि अल्पाइन क्लब अफ पाकिस्तानले ‘शान्तिसँग विश्राम गर्नुहोस्, निम्स दाइ!’ भन्दै अन्तिम श्रद्धाञ्जली प्रकट गरेको छ।
उसले निम्स दाइले पर्वतारोहणमा पुर्याएको योगदान एउटा देशको सीमामा मात्रै सीमित नरहेको उल्लेख गर्दै हर असम्भवलाई सम्भव बनाउने योद्धाका रुपमा चित्रण गरेको छ।
द अल्पाइन क्लब अफ पाकिस्तान त्यहाँको पर्वतारोहणसम्बन्धी काम गर्दै आएको गैरसरकारी संस्था हो। जसले पर्वतारोहण, क्लाइम्बिङ र अरु हिमालसम्बन्धी साहसिक गतिविधि सञ्चालन गर्दै आएको छ।
द अल्पाइन क्लब अफ पाकिस्तानले निर्मल पुर्जाले असम्भवलाई सम्भव बनाएको भन्दै अन्तिम सन्देश समेत जारी गरेको छ।
‘बेलायती विशेष फौज (ब्रिटिस स्पेसल फोर्सेस)का पूर्वसैनिकबाट पर्वतारोही बनेका उनले उच्च हिमाली आरोहणको क्षेत्रमा सम्भव मानिने सीमालाई नै पुनर्परिभाषित गरे। उनले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरे। यो उपलब्धि हासिल गर्नुपहिले वर्षौँ, कतिपयका लागि त जीवनभर लाग्ने गर्थ्यो। उनले गर्वका साथ नेपालको झण्डा संसारकै सर्वोच्च शिखरहरूमा फहराए र उनका उपलब्धिहरूले नेपालको पर्वतारोहण समुदायलाई विश्वव्यापी रूपमा नयाँ पहिचान दिलाए’, सन्देशमा भनिएको छ।
द अल्पाइन क्लब अफ पाकिस्तानले पुर्जाको प्रभाव कुनै एक देशको सीमाभित्र सीमित नरहेको उल्लेख गरेको छ।
‘कीर्तिमानभन्दा पनि ठूलो कुरा उनले संसारभरका मानिसहरूलाई असम्भव भन्ने कुरा वास्तवमा कसैले पर्याप्त साहस र दृढताका साथ प्रयास नगरेको मात्र हो भन्ने सन्देश दिएको छ। उनले विश्वभरका पर्वतारोही र सपना देख्नेहरूलाई एक समय असम्भव ठानिएका लक्ष्यहरू पछ्याउन प्रेरित गरेको छ। उनले अत्यन्त माया गरेका हिमालमै उनको निधन हुनु विश्व पर्वतारोहण समुदायका लागि अत्यन्त पीडादायी क्षति हो। उनले असम्भवलाई नै चुनौती दिने सन्देश दिएका छन्’, द अल्पाइन क्लब अफ पाकिस्तानले भनेको छ।
असम्भव भन्ने कुरा कसैले त्यसलाई सम्भव नबनाएसम्म मात्र असम्भव हुने भन्दै क्लबले उनको विरासत सधैं जीवित रहने बताएको छ।
‘उनले देखाएको बाटो पछ्याउने संसारभरका प्रत्येक पर्वतारोहीमा उनको प्रेरणा सधैँ बाँचिरहनेछ। यस दुःखद घडीमा हामी उहाँका परिवार, आफन्तजन तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ’, अन्तिम सन्देशमा भनिएको छ।