थाइल्यान्डबाट ल्याइएको ११ केजी गाँजासहित काठमाडौँमा प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ भारतीयलाई गाँजासहित नियन्त्रणमा लिएको हो।
ब्युरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीका अनुसार भारतको लुदियानाका ३० वर्षीय सोनी, सोही ठाउँका २३ वर्षीय जागरुप सिंह र कैरु हरियाणाका २२ वर्षीय साहिललाई थाइल्यान्डबाट ल्याइएको गाँजासहित पक्राउ गरिएको हो।
क्याथे प्यासिफिक एयरवेजको जहाजमार्फत हङकङ हुँदै तीन भारतीयमध्ये २ जना काठमाडौँ आएका थिए।
त्यस क्रममा उनीहरूको झोला चेकजाँच गर्ने क्रममा थाइल्यान्डको ११ केजी गाँजा फेला पारेको एसपी रेग्मीले बताए।
उक्त गाँजा लिन आएका अर्का भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको हो।