तराईनजिक मनसुनको प्रभाव, यी क्षेत्रमा ठूलो वर्षाको चेतावनी

 संवाददाता    २०८३, १७ श्रावण आईतवार १२:१९     21 जनाले पढ़िसके



Spread the love

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव छ भने हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तर नेपालको तराईनजिक छ।

जसका कारण यतिबेला (आइतबार बिहान) देशभर साधारणतया बादल लागेको छ भने बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार,

दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। साथै तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थान मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

काठमाडौँमा पनि हुन सक्छ ठुलो वर्षा

काठमाडौँ उपत्यकामा पनि मौसम बदली र वर्षा हुने क्रम जारी छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिढ ढकालले दिएको जानकारीअनुसार अहिले पनि काठमाडौँ उपत्यकाका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

‘कतिपय स्थानमा भने पानी पर्न रोकिएको छ’ , उनले भने, ‘तर मध्याह्नपछि फेरि पानी पर्ने क्रम बढ्ने देखिन्छ। दिउँसोभन्दा राति अझ वर्षा बढ्ने सम्भावना छ।’

उनले थपे, ‘आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ भने कतै कतै ठुलो वर्षा पनि हुने सम्भावना छ। तर ठुलो वर्षा हुने सम्भावना अलि कम छ।’

काठमाडौँ उपत्यकामा मध्यम वर्षाको सम्भावना छ भने कतै कतै भारी वर्षा पनि हुन सक्छ।
रातिको समय बढ्नेछ। उपत्यकाका थोरै स्थानमा हल्का वर्षा देखिन्छ।