तीन वाणिज्य बैंकमाथि कारबाही, प्रभु बैंकका पूर्वसिईओलाई ५ लाख जरिवाना

 संवाददाता    २०८३, १७ श्रावण आईतवार १२:००     57 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई कारबाही गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीमा उल्लेख भएको व्यवस्थाको उल्लंघन गरी निर्देशन पालना नगरेकोले अब आइन्दा सो विनियमावलीमा भएको व्यवस्था अनुसार समयमै बैंक खाता रोक्का राख्ने व्यवस्था गर्न राष्ट्र बैंकले सचेत गराएको छ ।

कृषि विकास बैंकले पनि सोही विनियमावली पालना नगरेकाले कारबाहीमा परेको छ । यस बैंकले विशेष स्थलगत निरीक्षणको क्रममा बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंक र कानून कार्यान्वयन गर्ने निकायले गरेको अनुरोधबमोजिम समयमै खाता रोक्का नगरी यस बैंकको निर्देशन उल्लंघन गरेकोले पाइएको छ । बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीमा भएका खाता रोक्कासम्बन्धी व्यवस्थाबमोजिम अनुरोध प्राप्त हुनासाथ खाता रोक्का/फुकुवा गर्न कृषि विकास बैंक लिमिटेडलाई सचेत गराइएको छ ।

प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनलाई राष्ट्र बैंकले पाँच लाख रुपैयाँ नगद जरिवाना तिराएको छ । कर्जाका सम्बन्धमा दिइएका अधिकांश निर्देशनहरू बैंकले पालना नगरी यस बैंकबाट जारी भएका निर्देशनहरू पटक पटक उल्लंघन गरेको, बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार अघिल्लो निरीक्षण प्रतिवेदनमा उल्लिखित अधिकांश कैफियतहरू सुधार नगरेको, कर्जाहरूको वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र पेश गरेको कर्जा सम्बन्धी विवरण बैंकको कोर बैकिङ्ग सिस्टमबाट प्राप्त हुने कर्जा विवरण भन्दा फरक हुने गरी पेश गरेको पाइएपछि कारबाही गरिएको जनाइएको छ ।

प्रभु बैंकको सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्न कबुलियतनामा गराइएको राष्ट्र बैंकले जनाएको छ ।