नेपालका विश्वविख्यात पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको निधनप्रति गिनिज वर्ल्ड रेकर्ड्सले दुःख व्यक्त गरेको छ । गिनिजले विज्ञप्ति जारी गर्दै पूर्जालाई श्रद्धान्जली दिएको हो ।
निर्मल पुर्जाका नाममा पर्वतारोहणका क्षेत्रमा थुप्रै विश्व कीर्तिमान छन् । सन् २०२५ सेप्टेम्बरसम्मको तथ्याङ्क अनुसार ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको सबैभन्दा धेरै (४९ पटक) सफल आरोहण गर्ने कीर्तिमान उनकै नाममा थियो । साथै, बिनाअक्सिजन सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्ने सबैभन्दा पाको व्यक्तिको कीर्तिमान पनि उनले बनाएका थिए ।
पुर्जाको निधनप्रति श्रद्धान्जली अर्पण गर्दै गिनिज वर्ल्ड रेकर्ड्सका एडिटर–इन–चीफ क्रेग ग्लेन्डेले भने, ‘निम्सले मानव शरीरको क्षमताको सीमालाई निरन्तर चुनौती दिएका थिए । उनले पर्वतारोहणको एउटा यस्तो नयाँ शैलीको सुरुवात गरे जसले स्वयं उनलाई र सम्पूर्ण आरोहण समुदायलाई नै चुनौती दियो ।’
ग्लेन्डेले थप भने, ‘शेर्पा गाइड र भरियाहरूको अतुलनीय योगदानलाई विश्वसामु चिनाउन उनले गरेको प्रतिबद्धता र प्रयास सधैँ एउटा जीवन्त विरासतको रूपमा रहनेछ।’
पुर्जाले आफ्नो साहसिक यात्रा र ‘प्रोजेक्ट पोसिबल’ मार्फत विश्वभर नेपाल र नेपाली पर्वतारोहीको शान बढाएका थिए । उनको असामयिक निधनले पर्वतारोहण जगतमा अपूरणीय क्षति पुगेको छ।