सरकारको कार्यशैलीप्रति आरेन राईको तीखाे टिप्पणी

 संवाददाता    २०८३, १४ श्रावण बिहीबार ११:५०     19 जनाले पढ़िसके



Spread the love

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न नमिल्ने बताएका छन्।

आजको संसद् बैठकमा आफ्ना धारणा राख्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ १७ गते राष्ट्रियताको विषयमा दिएको अभिव्यक्ति नसच्याउन जिद्दी गरिरहेको भन्दै उनले प्रधानमन्त्रीलाई जिद्दी नगर्न आग्रह गरे।

‘अरु विषयमा जिद्दी गरे पनि राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन,’ उनले भने, ‘प्रधानमन्त्रीले संसद्‍मा दिएका अभिव्यक्ति रेकर्डबाट हटाइयोस्। मैले दुईपटक यो माग गरिसकेँ, फेरि माग गर्नु नपरोस्।’

उनले देशमा हिँसात्मक गतिविधि हुँदा पनि सरकार बेखबर रहेको आरोप लगाए। ‘देशमा हिँसात्मक द्वन्द्व हुने अवस्था हुँदा पनि सरकार अन्धकारमा बसेर दुरबिन लगाएर देश हेर्दै छ,’ राईले भने।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ १७ गते सीमा विवादबारे दिएको अभिव्यक्तिको विपक्षी सांसदले बिरोध गरेका छन्।

उनीहरुले प्रधानमन्त्रीको जवाफ मागेर प्रतिनिधिसभामा विरोध जारी राख्ने पनि घोषणा गरेका छन्।

बैठकमा कांग्रेसकी बासना थापा, एमालेकी पद्मा अर्याल लगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै जवाफ मागेका छन्।