सुनसरी घटनाको पृष्ठभूमिमा विराटनगरमा सर्वपक्षीय बैठक आयोजना

 संवाददाता    २०८३, १४ श्रावण बिहीबार १०:४९     24 जनाले पढ़िसके



Spread the love

सुनसरीको देवानगन्जमा भएको घटनापछि त्यसको असर मोरङमा समेत पर्न सक्ने जोखिमलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको छ।

देवानगन्ज प्रकरणका कारण सामाजिक तथा धार्मिक सद्‌भावमा पर्न सक्ने सम्भावित नकारात्मक प्रभाव न्यूनीकरण गर्दै मोरङमा शान्ति सुव्यवस्था र धार्मिक सहिष्णुता कायम राख्न प्रशासनले अग्रसरता लिएको हो। ​

सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले बिहीबार दिउँसो ३ बजे विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा सर्वपक्षीय बैठक राख्ने तयारी रहेको बताए।

सर्वपक्षीय बैठकमा सामाजिक सद्‌भाव कायम राख्न सबै पक्षले खेल्नुपर्ने भूमिका, जिल्लामा सद्‌भाव र्‍याली आयोजना गर्ने तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ।

​प्रशासनले बैठकका लागि मोरङका सबै स्थानीय तहका प्रमुख तथा अध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा समितिका पदाधिकारी, हिन्दुवादी तथा मुस्लिम संघ-संगठनका प्रतिनिधिहरूलाई निम्ता गरेको छ।

त्यसैगरी नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, उद्योग वाणिज्य महासंघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, चेम्बर अफ कमर्स, विराट व्यापार संघ तथा होटल एसोसिएसनका प्रतिनिधिहरूलाई समेत बैठकमा सहभागिता लागि पत्र पठाइएको छ।