निर्वाचनमा नउत्रिने दल खारेज गर्ने प्रस्तावमा एमालेको आपत्ति

 संवाददाता    २०८३, १३ श्रावण बुधबार १५:४०     16 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले आयोगलाई संघीय ढाँचामा प्रभावकारी बनाउन र आधुनिक प्रविधिको दुरुपयोग रोक्न जरुरी रहेको बताएका छन्।

बुधबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाईका क्रममा उनले यस्तो बताएका हुन्। नेता दंगालले प्रस्तावित प्रमुख आयुक्तविरुद्ध परेका उजुरीका सम्बन्धमा अदालतबाट निर्णय भइसकेकाले त्यसमा थप बहस गरिरहनु आवश्यक नरहेको उल्लेख गरे।

उनले कार्कीद्वारा प्रस्तुत कार्ययोजना र अवधारणाको प्रशंसा गर्दै त्यसमा सूचना प्रविधि, प्रशासनिक र कानुनी सुधारका पक्षहरू सन्तुलित रूपमा समेटिएको बताए। आयोगको संगठनात्मक स्वरूप परिमार्जन गर्ने प्रस्तावका सन्दर्भमा नेता दंगालले यसलाई तल्लो तहसम्म सुदृढ बनाउनुपर्ने बताए।

मतदाता नामावली अद्यावधिक गर्ने र उपनिर्वाचन जस्ता कार्यका लागि आयोग केन्द्रमा मात्र अल्झिनु नहुने उनको तर्क छ।

प्रस्तावित प्रमुख आयुक्त कार्कीले निर्वाचनमा सहभागी नहुने दलहरूलाई प्रक्रिया पूरा गरेर खारेज गर्ने विषय कार्ययोजनामा समेटेकोमा दंगालले असहमति प्रकट गरे। राजनीतिक दलहरू विभिन्न उद्देश्यका साथ स्थापना हुने र सबैको उद्देश्य निर्वाचन मात्र नहुने उल्लेख गरे।

उनले भने, ‘निर्वाचन आयोगको संरचनालाई संघीय स्वरूपमा ढाल्दै जिल्ला वा पालिका तहसम्मै नामावली अद्यावधिक गर्ने व्यवस्था मिलाउनुपर्छ। यसको पुनर्संरचनाका लागि ठोस खाका आवश्यक छ। निर्वाचनमा भाग नलिएकै आधारमा दल खारेज गर्ने पक्षमा म छैन। यद्यपि, नियमित रूपमा विवरण अद्यावधिक नगर्ने र कानूनी प्रक्रिया पालना नगर्ने दलका हकमा भने सोच्न सकिन्छ।’

नेता दंगालले वर्तमान समयमा निष्पक्ष निर्वाचन सम्पन्न गर्न सूचना प्रविधिको दुरुपयोग सबैभन्दा ठूलो चुनौती रहेको बताए। आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम र डिजिटल प्लेटफर्ममार्फत फैलाइने मिथ्या सूचना र घृणास्पद अभिव्यक्तिले जनविश्वासमा नकारात्मक असर पारिरहेको उनको भनाइ छ।