सात वर्षअघि निर्माणकार्य सुरु गरिएको काठमाडौँको नागढुङ्गा सुरुङमार्ग अन्ततः सञ्चालनका लागि तयार भएको छ। जापानी प्रविधिमा निर्माण भएको यो नेपालकै पहिलो सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन गरिने भएको छ।
उद्घाटनपछि केही समय भने सुरुङमार्गबाट एम्बुलेन्स लगायत आपत्कालीन सवारी साधन मात्र सञ्चालन गरिने छ।
५.६७ किलोमिटर लामो मार्गमा २ हजार ६८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण गरिएको छ। यो मार्ग गुर्जुधारा फ्लाइओभरबाट सिस्नेखोलासम्म पुग्छ। सुरुङमार्ग सञ्चालनमा आएपछि धादिङको नौबिसेदेखि काठमाडौँ प्रवेश गर्ने दूरी करिब चार किलोमिटर छोटिइनेछ। साथै, नागढुङ्गा सडकखण्डमा हुने घण्टौँ लामो जाम तथा धुलो, पहिरो र दुर्घटनाको जोखिम पनि कम हुने भएको छ।
दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर सुरक्षाका उपायहरू अपनाई नागढुङ्गा सुरुङमार्ग निर्माण गरिएको नागढुङ्गा टनेल अपरेसन एन्ड मेन्टिनेन्सकी प्रवक्ता जिज्ञासा अधिकारीले बताइन्।
सुरुङमार्गमा कार, जिप, माइक्रोबस, मिनिबस, ट्रक तथा ४.७५ मिटरभन्दा कम उचाइ भएका सवारी साधनलाई मात्र प्रवेश दिइने प्रवक्ता अधिकारी बताउँछिन्। तर, डिजेल, पेट्रोल, ग्यास बुलेट तथा पशुपक्षी बोकेका सवारी साधन भने प्रवेश भने निषेध गरिएको छ।
आयोजना अन्तर्गत मुख्य सुरुङसँगै २ हजार ६८८ मिटर लामो छुट्टै उद्धार (इभ्याकुएसन) मार्ग पनि निर्माण गरिएको छ। यसबाट मुख्य
सुरुङमा कुनै दुर्घटना, आगलागी वा अन्य आपत्कालीन अवस्था आएमा सवारी चालक र यात्रुलाई सहज र सुरक्षित रूपमा बाहिर निकाल्न
सकिन्छ। यसका लागि मुख्य सुरुङ र उद्धार मार्गलाई जोड्ने सात वटा आपत्कालीन निकास ढोका निर्माण गरिएको छ। ती ढोका हरेक ३७५
मिटरको दूरीमा रहेका छन्।
त्यस्तै दुर्घटनावश आगलागी हुँदा आगो निभाउनका लागि ५५ वटा फायर हाइड्रेन्ट, ६६ वटा फायर डिटेक्टर तथा हरेक ५० मिटरमा आगो
नियन्त्रण प्रणाली जडान गरिएको छ। सुरुङमार्गमा आगलागी भएमा डिटेक्टरले स्वतः ट्राफिक कन्ट्रोल रुममा सूचना पठाउने र अलार्म बज्ने
व्यवस्था गरिएको छ। मार्गमा धुवाँ वा प्रदूषण बढेमा सुरुङमार्गमा जडान गरिएको जेट फ्यान धुवाँधुलो नियन्त्रणका लागि स्वतः सञ्चालन हुने
प्रणाली पनि राखिएको छ।
सुरुङमार्गभित्र भूकम्पीय जोखिमलाई ध्यानमा राख्दै विशेष प्रकारका ड्रेनेज पाइप जडान गरिएको छ। जुन पाइप दबाबका कारण खुम्चिए
पनि आफैँ पूर्व अवस्थामै फर्किने प्रविधि प्रयोग गरिएको प्रवक्ता अधिकारीले बताइन्।
सुरुङमार्ग प्रवेश गर्नुअघि बाहिर सवारी चालकले टोल प्लाजाबाट अनिवार्य रूपमा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। शुल्क सङ्कलनका लागि इलेक्ट्रोनिक टोल कलेक्सन र रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन प्रणाली जडान गरिएको छ। जहाँ कम्प्युटरले सवारी साधनको प्रकार स्वतः पहिचान गरी सोही अनुसार शुल्क निर्धारण गर्नेछ।
उक्त प्लाजा टोल पार गरेपछि सुरुङमार्ग प्रवेश गर्दा चालकले अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्ने प्रवक्ता अधिकारीको भनाइ छ। सुरुङभित्रको प्रकाश बाहिर भएको उज्यालोको मात्राअनुरूप स्वतः घटबढ हुने भएकाले चालकलाई एक्कासि प्रकाशको अन्तर महसुस नहुने व्यवस्था गरिएको छ। विद्युत् आपूर्ति अवरुद्ध भए पनि आकस्मिक बत्ती निरन्तर बलिरहने र केही समयमा नै जेनेरेटरबाट विद्युत् आपूर्ति सुरु हुने व्यवस्था गरिएको छ।
विगतमा नागढुङ्गा सडक पार गरेर सिस्नेखोला पुग्न जाम नहुने अवस्थामा पनि ४५ मिनेट लाग्ने गर्थ्यो। तर गुर्जुधाराको फ्लाइओभर हुँदै सुरुङमार्गबाट सिस्नेखोलासम्म पुग्न २० मिनेट मात्र लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिइन्।
यससँगै राजधानी भित्रिने र बाहिरिने यात्रुका लागि यात्रा सुरक्षित, सहज र छिटो हुने अपेक्षा गरिएको छ।