हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम सरदरभन्दा थोरै माथि तथा पूर्व सरदर स्थानआसपास छ।
मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला देशभरको आकाशमा साधारणतया बादल लागेको छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो र रातिका लागि यस्तो छ मौसम प्रक्षेपण:
दिउँसो : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ। मधेस र कोसी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ र तराईतर्फ आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना
काठमाडौँ उपत्यकाको मौसम आज (शुक्रबार) बिहानैदेखि बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा रातिदेखि नै बादल छ।
‘तर यो बिस्तारै हट्ने क्रममा देखिन्छ। तत्काल वर्षाको सम्भावना खासै देखिन्न। बिचमा केही समय घाम पनि लाग्ने सम्भावना छ’, उनले भने, ‘तर अपराह्नतिर फेरि बादल बढ्दै गएर मध्यमसम्म वर्षा हुने देखिन्छ।’
हाल मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक नरहेकाले, सरदर स्थानमा रहेकाले त्यस्तो धेरै वर्षाको सम्भावना नदेखिएको मौसमविद् अधिकारीले बताए।
‘हाल विशेषगरी पहाडी भूभाग र पूर्वी तराईभन्दा पश्चिम तराईतिर वर्षाको सम्भावना अलि बढी देखिएको छ’, उनले भने।