प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योग-व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा आज बिहान ११ः३० बजे हुनेछ।
छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैँचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पस्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन्।
प्रधानमन्त्री बालेनको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री शाहले निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उनीहरूसँग छलफल गर्नुहुनेछ।’
सचिवालयका अनुसार केही समयदेखि प्रधानमन्त्री शाहले देशको अर्थतन्त्र प्रवर्द्धनका लागि निजी क्षेत्रका उद्योगी-व्यवसायी तथा सरोकार भएका निकायसँग निरन्तर संवाद गरिरहेका हुन्।