ककरोच पार्टी सरकारसँग वार्तामा बस्न तयार

 संवाददाता    २०८३, ८ श्रावण शुक्रबार ११:०३     11 जनाले पढ़िसके



Spread the love

भारतमा झन्डै एक महिनादेखि आन्दोलनरत ककरोच जनता पार्टी (सीजेपी) सरकारसँग वार्ता गर्न तयार भएको छ।

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालगायत माग राख्दै विरोध प्रदर्शन गरिरहेको सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले आफूहरू सरकारसँग वार्ता गर्न राजी भएको बताएका हुन्।

यद्यपि शिक्षामन्त्री प्रधानको राजीनामालगायत आफ्ना सबै माग यथावत् रहेको उनले बताएका छन्।

सौरभ दासले भने, ‘सरकारले तटस्थ स्थानमा वार्ता गर्ने हाम्रो माग स्वीकार गरेको छ। हामी खुसी छौँ। वार्ताका लागि भारतीय संविधान क्लब छनोट गरिएको छ। सरकारले खुला मनले हामीसँग सम्पर्क गरेको र सडकमा आएका मानिसहरूको कुरा सुन्न इच्छुक भएकामा हामी खुसी छौँ।’

उनले अगाडि भने, ‘उनीनीहरू जन्तर-मन्तर पनि आउन सक्थे। तर हामीले उनीहरूलाई विकल्प प्रस्तुत गरेका छौँ। उनीहरू जन्तर- मन्तर आउन हिचकिचाउन सक्छन् भन्ने हामी बुझ्छौँ। हामी बुद्धिमान, शिक्षित मानिसहरू हौँ। त्यसैले हामीले उनीहरूलाई तटस्थ स्थानको विकल्प प्रस्ताव गर्‍यौँ।’

एनईईटी-यूजी परीक्षाको प्रश्नपत्र बाहिरिएपछि ककरोच जनता पार्टी शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहितका माग राखेर एक महिनाभन्दा बढी समयदेखि दिल्लीको जन्तर-मन्तरमा विरोध प्रदर्शन गरिरहेको छ।

त्यसमा समर्थन जनाउँदै अभियन्ता सोनम वाङचुकसमेत आमरण अनशनमा बसेका थिए। २६ दिनपछि उनले बिहीबार मात्र अनशन तोडेका छन्।

 

बिहीबार अनशन तोड्ने क्रममा सोनम वाङचुकबिहीबार अनशन तोड्ने क्रममा सोनम वाङचुक

 

उनले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा पोस्ट गर्दै केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र डा. जितेन्द्र सिंह साथै लेह-लद्दाख सर्वोच्च निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा आफ्नो अनशन तोडेको जानकारी दिएका हुन्न्।

वाङचुकले लेखेका छन्, ‘पहिले विभिन्न राजनीतिक दलका ६५ सांसदले मलाई अनशन तोड्न अनुरोध गर्दै पत्र लेखेका थिए।’

उनले यो निर्णय लामो छलफलपछि र देशमा हिंसाको सम्भावनालाई ध्यानमा राखेर गरिएको उल्लेख गरेका छन्।

वाङचुकले थप लेखेका छन्, ‘म यस विषयमा चाँडै छुट्टै भिडिओमा विस्तृत रूपमा बताउनेछु। यसैबिच म तपाईंहरू सबैलाई सतर्क रहन र कतै पनि हिंसा हुन नदिन आग्रह गर्दछु।’