मंगलबार बिहान कीर्तिपुर, ट्याङ्लाफाँटमा आगलागी भएको कारमा नियतबस आगो लगाइएको निष्कर्षमा प्रहरी पुगेको छ । आगलागीपछि चालक सीटमा ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ मृत फेला परेका थिए ।
मेडिकल व्यवसायमा घाटा भएदेखि मानसिक समस्यामा रहेका श्रेष्ठले समय-समयमा अस्वाभाविक व्यवहार देखाउने गरेको पारिवारिक स्रोतले जनाएको छ । काठमाडौं, नरदेवीका स्थायीवासी उनी कीर्तिपुरको ग्रीन उड भिल्लामा बस्दै आएका थिए ।
मंगलबार आफैँले गाडी चलाएर ट्याङ्लाफाँटस्थित सुम्लाङकोटको खाली ठाउँमा गाडी राखेर उनले गाडीभित्रै पेट्रोल छर्किएको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
श्रेष्ठले कोभिड संक्रमणकालमा विदेशबाट अत्यावश्यक स्वास्थ्य सामाग्री आयात गरेका थिए । तर, बजारबाट पैसा नउठेपछि ऋण लाग्यो । परिवारका सदस्यले प्रहरीलाई बताएअनुसार ऋणको व्याजसमेत तिर्ने स्थिति नहुँदा उनी मानसिकरूपमा समस्यामा थिए र अस्वाभाविक गतिविधि देखाउँथे ।
मंगलबार बिहान सुरेशचन्द्रले गाडी पार्किङ गर्ने ठाउँमा राखेर गाडीभित्रै आगो लगाएका थिए । त्यसमाथि कम्मरमा बाँधेको सीट बेल्ट पनि खोलेका थिएनन् । सीसीटीभी फुटेजमा देखिएअनुसार एक प्रत्यक्षदर्शी पुरुषले गाडीको ढोका खोल्न त भ्याए, तर आफ्नै हातमा आगो लागेपछि उनी भागे । ढोका खुलिसक्दा पनि चालक सीटमा बसेका श्रेष्ठ बाहिर निस्किएनन् । प्रहरीले आगो निभाएपछि उनी चालक सीटमै मृत फेला परेका थिए ।
आगलागी भएको गाडी उनले २०६२ सालमा खरिद गरेको अभिलेख यातायात व्यवस्था कार्यालयबाट प्राप्त भएको प्रहरीले जनाएको छ । उक्त गाडी मृतक श्रेष्ठ र रजनी श्रेष्ठको नाममा दर्ता छ ।