रेडक्रसलाई मितव्ययी बन्न निर्देशन, पाँचतारे होटलमा कार्यक्रम निषेध

 संवाददाता    २०८३, ६ श्रावण बुधबार १३:०७     0 View



Spread the love

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले संस्थाभित्र वित्तीय अनुशासन र मितव्ययिता कायम गर्न कडा निर्देशन जारी गरेको छ । केही दिनअघि मात्र पाँचतारे होटल ‘सोल्टी’ मा आयोजित एक कार्यक्रमलाई लिएर प्रश्न उठाउँदै संस्थागत स्रोतको दुरुपयोग रोक्न र मानवीय सेवामा केन्द्रित हुन कर्मचारी तथा पदाधिकारीलाई सचेत गराइएको छ ।

आन्तरिक सर्कुलर जारी गर्दै अध्यक्ष डा. विशाल भण्डारीले मानवीय सेवाका लागि संकलित स्रोतहरू विलासी होटलमा खर्च गर्नुको साटो विपद् प्रभावित र जोखिममा रहेका समुदायको प्रत्यक्ष हितमा उपयोग हुनुपर्नेमा जोड दिएका छन् ।

‘रेडक्रसको प्रतीक प्रयोग गरी आयोजना हुने हरेक कार्यक्रमप्रति हामी सबै जवाफदेही हुनुपर्छ । के यति महँगो स्थानमा यस्तो कार्यक्रम आयोजना गर्नु वास्तवमै आवश्यक थियो ? आगामी दिनमा यस्ता विषयमा गम्भीर पुनर्विचार गर्न जरुरी छ ।’

नेपाल सरकार र अन्य नागरिक समाजका संस्थाहरूले स्रोत-साधनको विवेकपूर्ण प्रयोग र मितव्ययितालाई प्राथमिकता दिइरहेका बेला रेडक्रसले पनि सोही बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।

रेडक्रसभित्र वित्तीय अनुशासन र खर्चको प्रभावकारी व्यवस्थापनलाई ध्यान दिएर आन्तरिक सर्कुलर पठाइएको महामन्त्री ऋषिरमण खनालले बताए । आगामी दिनमा कुनै पनि कार्यक्रम आयोजना गर्दा सम्भव भएसम्म आफ्नै सभा हल प्रयोग गर्न र यदि आफ्नै हल नभए कम खर्चिला र उपयुक्त स्थल मात्र छनोट गर्न भनिएको उनको भनाइ छ ।