युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख (कमान्डर-इन-चिफ) ओलेक्सान्द्र सिर्स्कीलाई बर्खास्त गरेका छन्।
लोकप्रिय रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएको केही दिनपछि जेलेन्स्कीले सेना प्रमुखलाई पनि बर्खास्त गरेका हुन्।
रक्षामन्त्री हटाइँदा देशभर विरोध प्रदर्शन भएको थियो।
६० वर्षीय सिर्स्कीलाई युक्रेनमा धेरैले सेनामा आमूल परिवर्तन लागु गर्न अनिच्छुक सोभियत-स्कुलका कमान्डरका रूपमा हेर्छन्।
बीबीसीका अनुसार उनको ठाउँमा ४३ वर्षीय मिखाइलो द्रापातीलाई ल्याइएको छ। उनी एक लोकप्रिय युद्ध-कठोर जनरल हुन्।
युक्रेनको सेना प्रमुखमा नियुक्तिपछि द्रापातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म जिम्मेवारीपूर्वक र पूर्ण ध्यानका साथ आज हाम्रो देशको रक्षा गरिरहेका मानिसहरूसँग मिलेर काम गर्नेछु।’
उनले सिर्स्कीलाई ‘युक्रेनी सेनालाई बलियो बनाउन निरन्तर काम गरेकामा’ धन्यवाद पनि दिएका छन्।
यसअघि गत बिहीबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अचानक बर्खास्त गरेका थिए।
नियुक्त भएको ६ महिनामै फेडोरोभ रक्षामन्त्री पदबाट हटाइएका हुन्।
जसको विरोधमा धेरै सहरमा प्रदर्शन भएको थियो।
केही समयदेखि रक्षामन्त्री फेडोरोभ र युक्रेनी सेना प्रमुख सिर्स्कीबिच मतभेद भएको समाचार बाहिरिएको थियो।
फेडोरोभले बिहीबार भनेका छन्, ‘मैले राष्ट्रपति जेलेन्स्कीलाई सेना प्रमुख ओलेक्सान्द्र सिर्स्की र जनरल स्टाफ प्रमुख एन्ड्री हनाटोभ हटाउन आग्रह गरेको थिएँ। जब राष्ट्रपतिले सिर्स्कीलाई नहटाउने भन्नुभयो, मैले भनेँ- मैले उहाँसँग काम गर्न सिक्नुपर्छ।’
उनले सिर्स्कीलाई लक्ष्य गर्दै अगाडि भनेका थिए, ‘फरक रणनीतिले रुसलाई हराउने बाटो खोज्नुको सट्टा उनले देशलाई विभाजन गर्ने बाटो रोजे।’