रास्वपाका सांसद खगेन्द्र सुनारले आत्मदाह गरेका गणेश नेपालीलाई बचाउन गृहमन्त्रीसँग आफूहरू गएर रातदिन अहोरात्र प्रयास गर्दा पनि नसकेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा यो घटनामा संलग्नलाई कारबाही गर्न सरकारले छानबिनको पहल गरेकाले धन्यवाद दिए।
उनले भने, ‘यसमा यति धेरै राजनीतिक, धेरै जातीय रङ्ग पोतियो, सदन र सडकमा पनि कहाँ गयो खगेन्द्र सुनार? कहाँ गएको छ? हिजो नेल लाएर आएको खगेन्द्र सुनार कहाँ गयो? भनेर जताततै खोजेको मैले त्यहाँ पाएँ। यसलाई जातीय रूपमा भएको घटना मात्र होइन, मेरो घरको मान्छे, मेरो थरको मान्छे मर्यो, मलाई त्यसमा पीडा छ।’
आजभन्दा ८ वर्ष पहिला रुकुमको सोतीमा ६ जनाको हत्या हुँदा ममाथि प्रश्न उठाउने क्रान्तिकारी साथीहरू कहाँ थिए? भन्दै प्रश्न गरे।
उनले आफूमाथि प्रश्न उठाउने विपक्षीलाई भने, ‘अहिले बालेनको मुर्दावाद भन्ने क्रान्तिकारी साथी, तपाईँकै छेउमा बसेको मित्र गृह मन्त्री हुँदै गर्दा ६ जना मान्छेको हत्या भएको थियो। अहिले बालेनको मुर्दावाद भन्ने कमरेडले, त्यतिबेला बाको मुर्दावाद भन्न सक्ने दम छ?’
उनले पीडित परिवारको जिम्मा सरकारले लिने बताए।
उनले थपे, ‘हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो। यहाँ छ खगेन्द्र सुनार! यो नेल लगाएर आएको खगेन्द्र सुनार हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन। हामी नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा हामीले बुझेर आएका छौँ।’