नेपालको महिला यु १९ टिमले अर्को एकतर्फी प्रतिस्पर्धामा हङकङलाई १ सय ८१ रनको विशाल अन्तरले हराएको छ । नेपालले बलिङ र ब्याटिङ दुवैमा हङकङलाई कुनै मौका दिएन ।
एसीसी यु १९ महिला प्रिमियर कप अन्तरगतको खेलमा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो म्याचमा नेपालले सिंगापुरलाई १ सय ५१ रनले पराजित गरेको थियो ।
आज भएको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट क्षतिमा २ सय ११ रनको विशाल स्कोर खडा गर्यो । नेपालका लागि कप्तान सोनी पाख्रिनले ६० बलमा सर्वाधिक ९० रन बनाइन् । उनले १३ चौका र १ छक्का प्रहार गरेकी थिइन् । ओपनर सावित्री धामी ३६ बलमा ५२ रन बनाएर आएट हुँदा अलिसा कुमारी यादवले १२ बलमा २३ रनको केमियो इनिङ खेलिन् । हङकङका लागि निम्रा अरबले दुई विकेट लिइन् ।
जवाफी ब्याटिङमा हङकङले लक्ष्य पछ्याउने चेष्टा नै गरेन । हङकङकी वङ विङ किउ हेलीले मात्रै दोहोरो स्कोरमा रन बटुल्न सकिन् । उनले टेस्ट शैलीमा ब्याटिङ गर्दै ४५ बलमा १३ रन जोडिन् ।
नेपालकी कप्तान सोनी पाख्रिन बलिङमा पनि चम्कीइन् । उनले ४ ओभरमा ४ रन मात्रै दिएर ४ विकेट लिइन् । मनिषा उपाध्यायले २ विकेट हात पारिन् ।