थाइल्यान्डको बैंककको बारमा आगलागी, कम्तीमा २७ जनाको ज्यान गयो

 संवाददाता    २०८३, २९ असार सोमबार १४:०५     12 जनाले पढ़िसके



Spread the love

थाइल्याण्डको राजधानी बैंककस्थित एउटा बारमा आइतबार अबेर राति भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य २२ जनाको अवस्था चिन्ताजनक छ ।

प्रत्यक्षदर्शीका अनुसार बैंककको प्रसिद्ध चतुचक जिल्लास्थित उक्त बारको स्टेज नजिकैबाट आगो सुरु भएको थियो । आगो द्रुत गतिमा फैलिएपछि बिजुली काटिएको र पूरै कोठा धुवाँले भरिएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ग्राहकहरू आत्तिएर चिच्याउँदै बाहिर निस्कन खोजिरहेको देखिन्छ । ‘रोङ बियर ना लात फ्राओ’ नामक उक्त बारको मुख्य ढोकाबाट बाहिर निस्कँदै गरेका केही व्यक्तिको लुगामा आगो लागिरहेको देखिन्थ्यो ।

मध्यरातपछि घटनास्थल पुगेका दमकलकर्मीहरूले केही समयमै आगो नियन्त्रणमा लिएका थिए । धेरैजसो पीडितका शवहरू शौचालयमा भेटिएका थिए, जहाँ उनीहरू ज्यान जोगाउन लुकेको हुनसक्ने अनुमान गरिएको छ ।

बैंककको विपद् व्यवस्थापन विभागको प्रारम्भिक अनुसन्धानले एयर कन्डिसनरमा भएको ‘विद्युतीय सर्ट सर्किट’का कारण आगलागी भएको हुनसक्ने संकेत गरेको छ, यद्यपि आधिकारिक कारण भने पुष्टि हुन बाँकी छ । अधिकारीहरूले यस घटनाको विस्तृत छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् ।

थाइल्याण्डमा यस्तो दुखद घटना भएको यो पहिलोपटक भने होइन । विगतका घटनाहरूपछि अग्नि सुरक्षा र विद्युतीय मापदण्डमा सुधार गर्ने सरकारी आश्वासनका बाबजुद ती नियमहरू अझै पनि प्रभावकारी रूपमा लागू हुन सकेका छैनन् ।

सोमबार बिहान घटनास्थल पुगेका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले त्यहाँ कार्यरत एक संगीतकर्मीलाई उद्धृत गर्दै भने, ‘त्यहाँ ठूलो विस्फोटको आवाज आयो र सबैजना धुवाँ र ज्वालाबाट बच्न भाग्न थाले ।’ उनका अनुसार धेरै मानिस भवनको पछाडि रहेको शौचालयमा लुक्न जाँदा बाहिर निस्कन नपाई भित्रै फँसेका थिए।

दमकलकर्मीहरूले करिब आधा घण्टामा आगोलाई नियन्त्रणमा लिएका थि ए। अधिकारीहरूका अनुसार यस दुर्घटनामा ९ पुरुष र १८ महिला गरी २७ जनाले ज्यान गुमाएका छन् । ६० भन्दा बढी मानिसको अस्पतालमा उपचार भइरहेको छ, जसमा २२ जनाको अवस्था गम्भीर छ। धेरैजसोको मृत्यु धुवाँले निसास्सिएर भएको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

बैंककका गभर्नर चाचार्ट सिटिपन्टले बारको छतमा प्रयोग गरिएका प्रज्वलनशील सजावटका सामग्रीले आगो छिटो फैलिन मद्दत गरेको हुनसक्ने बताए । केही मानिसहरू आपतकालीन निकास नजिकै बेहोस अवस्थामा भेटिएकाले उक्त ढोकामा केही अवरोध रहेको हुनसक्ने पनि उनले आशंका व्यक्त गरे ।

एक प्रत्यक्षदर्शी मोटरसाइकल चालक सुरिन जाइहार्नले आफूले पाँचजना मानिसलाई जलिरहेको भवनबाट निकाल्न मद्दत गरेको र उनीहरूको शरीरको आगो निभाउन लुगाको प्रयोग गरेको बताए । उनले भने, ‘मलाई धेरै दुःख लागेको छ । मैले धेरैको मृत्यु भएको देखें र मैले बचाएका मानिसहरूको अवस्था के छ, मलाई थाहा छैन ।’

सोमबार बिहान बार क्षेत्रलाई सिल गरिएको छ र भवनबाहिर शव राखिने झोलाहरूको लस्कर देखिएको छ। भवनको भित्री भाग, भित्ता र छत पूर्ण रूपमा जलेर कालो भएको छ ।

चतुचक जिल्ला कार्यालयले उक्त भवनलाई ३० दिनका लागि बन्द गर्ने घोषणा गरेको छ। अधिकारीहरूले मृतकका परिवारलाई २९,३०० थाई भाट (करिब ८८० डलर) र घाइतेहरूलाई ४,००० थाई भाट राहत दिने घोषणा गरेका छन् ।