ब्राजिलका स्टार फरवार्ड नेयमार एकपटक फेरि विवादको केन्द्रमा परेका छन्।
विश्वकपमा उनको भूमिकाबारे ब्राजिलभरि पहिले नै तीव्र बहस चलिरहेको बेला, टोली प्रतियोगिताबाट बाहिरिएलगत्तै उनी विश्वकै प्रतिष्ठित पोकर (जुवा) प्रतियोगितामा सहभागी भएपछि समर्थकहरूबीच नयाँ विवाद सुरु भएको हो।
विश्वकपका लागि नेयमारलाई टोलीमा समावेश गर्ने निर्णय सुरुदेखि नै विवादित बनेको थियो। चोटले प्रभावित सिजनपछि उनी विश्वकपमा पुगेका थिए। धेरै समर्थकले उनको शारीरिक अवस्थामात्र नभई टोलीमा उनको स्थानबारे पनि प्रश्न उठाएका थिए।
कतिपय समर्थकको धारणा थियो कि नेयमारलाई टोलीमा राख्दा जोआओ पेड्रोजस्ता खेलाडी अवसरबाट वञ्चित भए, जसले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको ब्राजिल टोलीका लागि फरक प्रभाव पार्न सक्थे।
विश्वकप सकिएपछि केही दिनका लागि नेयमारले फुटबलबाट ध्यान हटाएर अर्को प्रतिस्पर्धामा सहभागी भएका छन्। हालसम्म उनले आफ्नो क्लब सान्टोसमा भविष्य वा सम्भावित सन्यासबारे कुनै जानकारी दिएका छैनन्।
तर अमेरिकाको लस भेगासमा भएको उनको पछिल्लो उपस्थितिले ब्राजिलका धेरै समर्थकलाई निराश बनाएको छ।
ब्राजिल विश्वकपको अन्तिम १६ बाट बाहिरिएको केही दिनमै नेयमार विश्वकै प्रतिष्ठित पोकर प्रतियोगिता वर्ल्ड सिरिज अफ पोकर अन्तर्गतको १० हजार अमेरिकी डलर नो–लिमिट होल्ड’एम ६–म्याक्स प्रतियोगितामा सहभागी भएको देखिएका हुन्।
उनको भविष्य अझै अन्योलमा रहेका बेला पोकर प्रतियोगितामा सहभागी भएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेयमार फेरि चर्चाको केन्द्र बने। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा नेयमार पोकर टेबलमा चिप्स अगाडि राखेर अन्य प्रतिस्पर्धीसँग खेलिरहेको देखिन्छ।
यो भिडियो भाइरल भएपछि विश्वकपबाट ब्राजिल बाहिरिएको निराशाबाट बाहिरिन नसकेका समर्थकहरूले उनको आलोचना गरेका छन्। धेरैले यस्तो समयमा पोकर प्रतियोगितामा सहभागी हुनु ब्राजिलका प्रमुख खेलाडीका रूपमा उपयुक्त सन्देश नभएको टिप्पणी गरेका छन्।
यद्यपि भिडियोमा उनले प्रतियोगितामा कति रकम लगानी गरे, जिते वा हारे भन्ने कुनै विवरण खुलाइएको छैन।
ब्राजिलका धेरै समर्थक नेयमारका पछिल्ला निर्णयसँग असहमत छन्। उनीहरूका अनुसार नेयमारका गतिविधि ब्राजिलका सबैभन्दा ठूला फुटबल स्टारबाट अपेक्षा गरिने व्यवहारसँग मेल खाँदैनन्।
तर फुटबलबाहेकको व्यक्तिगत जीवनमा भने सान्टोसका फरवार्ड नेयमारलाई आफ्नो समय र पैसा आफूले चाहेअनुसार खर्च गर्ने स्वतन्त्रता रहेको पनि उल्लेख गरिएको छ।