शंकास्पद गाडीको विवरण सार्वजनिक, दुई व्यक्तिका र एक बैंकको नाममा

 संवाददाता    २०८३, २९ असार सोमबार १५:२९     8 जनाले पढ़िसके



Spread the love

सञ्चारमाध्यमका कार्यालय अगाडि राखिएका दुई वटा गाडी व्यक्तिको र एउटा गाडी बैंकको नाममा रहेको खुलेको छ।

सोमबार बिहानै कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि बाटो छेकिने गरी गाडी पार्किङ गरेर राखिएको थियो। जसले गर्दा सञ्चारमाध्यमका कार्यरत पत्रकार र कर्मचारीलाई आफ्ना सवारी साधान कार्यालय हाताभित्र लग्न समेत समस्या भएको थियो।

यातायात व्यवस्था विभागको तथ्या‌कअनुसार, कान्तिपुर पब्लिकेशनको कार्यालय अगाडि रहेको बा. प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको पाइएको छ।

त्यस्तै, अनलाइन खबरको कार्यालय अगाडि रहेको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा रहेको यातायात व्यवस्था विभाग स्रोतले जानकारी दिएको छ।

यसैगरी हिमालय टेलिभिनको कार्यालय अगाडि राखिएको बा १० च १२५५ नम्बरको गाडी व्यक्तिको नाममा रहेको पाइएको छ।

तीनै गाडी राख्ने मान्छेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली तीनै ठाउँका गाडी हटाएको छ। क्रेनको सहयोगमा गाडी हटाइएका हुन्।