चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाका लागि पाँचबुँदे नियम बनाइएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनमा कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न पाउने छैनन्।
पार्टीको निर्वाचन आयोगको यो नियमविपरीत मनोनयन फारम दर्ता गरिएमा उम्मेदवारी स्वतः अमान्य हुने रास्वपाले जनाएको छ।
आयोगले विभिन्न पदका लागि प्रस्तावक र समर्थकको संख्या पनि तोकेको छ।
जसअनुसार पार्टी सभापति पदको उम्मेदवारीका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ भने अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ।
उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थकका नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य रूपमा बुझाउनुपर्ने नियममा उल्लेख छ।
हेर्नुहोस् पाँचबुँदे नियम
