विश्वकपको रोमाञ्चक समीकरणः नकआउट पुग्ने र बाहिरिने टोलीको सूची

 संवाददाता    २०८३, ९ असार मंगलवार ११:३०     16 जनाले पढ़िसके



Spread the love

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिमतिर पुगेसँगै नकआउट चरणमा पुग्ने टोलीहरुको टुंगो लाग्ने क्रम जारी छ ।

पहिलो पटक ४८ टोली सहभागी यस विश्वकपमा राउन्ड अफ ३२ समावेश गरिएको छ । यो चरण जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुनेछ।

नकआउट चरणमा कसरी पुग्छन् ?
१२ समूहका शीर्ष दुई टोली स्वतःः नकआउट चरणमा पुग्नेछन् । त्यसबाहेक समूहमा तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट आठ टोलीले पनि अन्तिम ३२ मा स्थान बनाउनेछन् ।

विश्वकपको नकआउट यात्रा राउन्ड अफ ३२ बाट सुरु भएर राउन्ड अफ १६, क्वाटरफाइनल, सेमिफाइनल हुँदै जुलाई १९ मा हुने फाइनलसम्म पुग्नेछ ।

विश्वकप इतिहासमै पहिलो पटक फिफाले समान अंक भएका टोलीबीच गोलअन्तरभन्दा हेड–टु–हेड नतिजालाई प्राथमिक आधार बनाएको छ ।

समान अंक भएमा पहिलो चरणमा सम्बन्धित टोलीबीचको प्राप्त अंक, गोलअन्तर, गोल संख्या हेरिनेछ ।

त्यसपछि मात्र समग्र गोलअन्तर, समग्र गोल संख्या, अनुशासन अंक (कार्ड) र अन्तिम अवस्थामा फिफा वरीयताको आधारमा निर्णय हुनेछ ।

हालसम्म अन्तिम ३२ मा पुग्ने टोलीहरूः
मेक्सिको (समूह एं)
सह–आयोजक मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । दक्षिण कोरियामाथि १–० को जित निकाल्दै उसले समूह ए को शीर्ष स्थान सुरक्षित गरेको हो ।

अमेरिका (समूह डी)
अष्ट्रेलियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्यो। यसअघि उसले पाराग्वेमाथि ४–१ को प्रभावशाली जित निकालेको थियो ।

जर्मनी (समूह ई)
आइभरी कोस्टलाई २–१ ले पराजित गरेपछि जर्मनी अन्तिम ३२ मा पुगेको हो। जर्मनीले पहिलो खेलमा कुरासाओलाई ७–१ ले हराएको थियो ।

अर्जेन्टिना (समूह जे)
कप्तान लियोनल मेसीको दुई गोलको मद्दतमा अस्ट्रियामाथि २–० को जित निकाल्दै साविक विजेता अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ । मेसीले विश्वकपमा आफ्नो गोल संख्या १८ पुर्‍याउँदै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत कायम गरेका छन् ।

फ्रान्स (समूह आई)
किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा इराकलाई ३–० ले हराउँदै फ्रान्सले अन्तिम ३२ मा स्थान पक्का गरेको छ । फ्रान्सले प्रतियोगिताको सुरुआती खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको थियो ।

नर्वे (समूह आई)
सेनेगलमाथि ३–२ को जित निकाल्दै २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे नकआउट चरणमा पुगेको छ । नर्वेले पहिलो खेलमा इराकलाई ४–१ ले हराएको थियो ।

विश्वकपबाट बाहिरिने टोलीहरूः
हाइटी (समूह सी)
ब्राजिलसँग ३–० ले पराजित भएपछि हाइटी विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो । पहिलो खेलमा पनि उसले स्कटल्यान्डसँग १–० को हार बेहोरेको थियो ।

टर्की (समूह डी)
१० खेलाडीमा सीमित पाराग्वेसँग १–० ले पराजित भएपछि टर्कीको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ । अष्ट्रेलियासँगको पहिलो खेलमा पनि उसले २–० को हार बेहोरेको थियो ।

ट्युनिसिया (समूह एफ)
जापानसँग ४–० र स्विडेनसँग ५–१ को हारपछि ट्युनिसिया विश्वकपबाट बाहिरिएको तेस्रो टोली बनेको छ ।

विश्वकप २०२६ को बाँकी तालिका
समूह चरण: जुन ११–२७

राउन्ड अफ: ३२ः जुन २८–जुलाई ३

राउन्ड अफ: १६ जुलाई ४–७

क्वाटरफाइनलः जुलाई ९–११

सेमिफाइनलः जुलाई १४–१५

तेस्रो स्थानको खेलः जुलाई १८

फाइनलः जुलाई १९