एक समय थियो, जब विश्वकपका खेलहरू रातो कार्डले भरिभराउ हुन्थे। तर पछिल्ला वर्षहरूमा त्यो दृश्य हराउँदै गएको जस्तो देखिएको थियो।
तर बिहीबार विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराउँदा तीन खेलाडीले रातो कार्ड पाएपछि फेरि बहस सुरु भएको छ।
दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वाने मैदानबाट बाहिरिए भने इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्तेस पनि रातो कार्ड खाँदै खेलबाट निष्कासित भए।
सायद हामी पछिल्ला विश्वकपहरूले गर्दा अभ्यस्त भइसकेका थियौँ। रूस २०१८ र कतार २०२२ विश्वकपमा पूरै प्रतियोगिताभर जम्मा चार–चारवटा मात्रै रातो कार्ड देखाइएको थियो। तर विश्वकप २०२६ ले उद्घाटन खेलमै त्यो संख्यालाई लगभग बराबरी गरिसकेको छ।
एकै खेलमा तीन खेलाडीले रातो कार्ड पाएको घटना २० वर्षयता पहिलो हो। यसअघि सन् २००६ को विश्वकपमा यस्तो भएको थियो, जहाँ प्रतियोगिताभर २८ खेलाडीलाई रातो कार्ड देखाइएको थियो।
त्यो विश्वकप निकै चर्चित बनेको थियो। तीन फरक खेलमा तीन–तीन खेलाडी निष्कासित भएका थिए भने पोर्चुगल र नेदरल्यान्ड्सबीचको खेलमा विश्वकप इतिहासकै कीर्तिमानी चार रातो कार्ड देखाइएको थियो।
त्यसैले प्रश्न उठ्न थालेको छ—के विश्वकप फेरि त्यही पुरानो युगमा फर्किँदैछ ? के विश्वकप २०२६ रातो कार्डको वर्षाका लागि सम्झिइनेछ ?
रातो कार्ड कहिलेकाहीँ उचित पनि हुन्छ
सन् २०१७ मा इटालीका प्रसिद्ध पूर्व रेफ्री पिएरलुइजी कोलिनालाई फिफाले रेफ्री विभागको प्रमुख नियुक्त गरेको थियो। त्यसपछि रेफ्रीङको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन आएको मानिन्छ।
कोलिना प्रायः भन्छन्, रेफ्रीको निर्णयले दुवै टोलीका लागि न्याय सुनिश्चित गर्नुपर्छ। उनको विचारमा खेलाडीले साँच्चिकै गम्भीर गल्ती नगरेसम्म मैदान छोड्नुपर्ने अवस्था आउनु हुँदैन।
उदाहरणका लागि, गोल गर्ने स्पष्ट अवसर (डिनाइङ एन अब्भियस गोलस्कोरिङ अपर्चुनिटी–डोग्सो) रोकिएको अवस्थामा पेनाल्टी दिइएपछि रातो कार्ड दिने नियमलाई निकै खुकुलो बनाइएको छ। अहिले यस्तो अवस्थामा रातो कार्ड पाउनु निकै कठिन छ।
त्यसैले कोलिनाको कार्यकालमा आयोजित रूस २०१८ र कतार २०२२ विश्वकपमा जम्मा चार–चारवटा रातो कार्ड देखाइनु आश्चर्यजनक थिएन।
प्रतियोगिताको सुरुवातमा रेफ्रीहरूको निर्णयले प्रायः प्रतियोगिताको समग्र शैली निर्धारण गर्छ। त्यसैले उद्घाटन खेलबाट केही निष्कर्ष निकाल्न मिल्छ कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।
तर विश्वकपअघि आयोजित रेफ्रीहरूको बैठकमा कोलिनाले समय खेर फाल्ने प्रवृत्ति र खेलाडीहरूको व्यवहारबारे बढी जोड दिएका थिए। रातो कार्डको संख्या बढाउने कुनै कडा अभियानबारे भने उनले चर्चा गरेका थिएनन्।
सिथोलेको रातो कार्डमा विवाद छैन
याया सिथोलेले ब्रायन गुटिएरेजलाई फाउल गरेपछि ब्राजिली रेफ्री विल्टन साम्पायोले रातो कार्ड देखाएका थिए।
गुटिएरेज गोलतर्फ एक्लै अघि बढिरहेका थिए। सिथोलेको नियत जेसुकै भए पनि उनले विपक्षीलाई रोकेका थिए। यसले स्पष्ट गोल गर्ने अवसर खोसेको मानियो।
त्यसैले यो निर्णयलाई लिएर खासै विवाद भएन। ज्वानेको निष्कासन भने विवादास्पद दोस्रो रातो कार्ड भने धेरै विवादास्पद रह्यो। भिडियो सहायक रेफ्री (भिएआर)को सिफारिसपछि थेम्बा ज्वानेलाई हिंसात्मक व्यवहारको आरोपमा निष्कासित गरिएको थियो।
ज्वाने र रोबर्टो अल्भाराडोबीच बलबाहिर सामान्य धकेलाधकेल भएको देखिन्थ्यो। त्यसपछि अल्भाराडोले टाउको समात्दै मैदानमा लडेका थिए।
भिएआर रेफ्री निकोलास गालोको सुझावपछि साम्पायोलाई मैदानछेउको स्क्रिनमा बोलाइयो। तर रिप्ले हेर्दा वास्तवमा के भएको थियो भन्ने स्पष्ट बुझ्न गाह्रो थियो।
के साँच्चै टाउकोमा हात लागेको थियो ? यदि लागेको हो भने त्यो जानाजानी थियो कि दुर्घटनावश ? हिंसात्मक व्यवहारको मूल्याङ्कन गर्दा भिएआर टोलीलाई बन्द मुठ्ठी प्रयोग भएको छ कि छैन भन्ने हेर्न निर्देशन दिइन्छ। यद्यपि त्यो अनिवार्य मापदण्ड होइन।
रिप्लेमा ज्वानेले अल्भाराडोको टाउकोको छेउमा खुला हातले छोएको देखिन्छ, बन्द मुठ्ठीले होइन।
त्यसैले धेरैलाई यो निर्णय अत्यन्तै कठोर लागेको छ। भिएआरको उद्देश्य स्पष्ट र ठोस गल्ती सच्याउने हो, यस्तो अस्पष्ट घटनामा हस्तक्षेप गर्नु उचित थियो कि थिएन भन्ने बहस जारी छ।
तर सम्भवतः कोलिनाले रेफ्रीहरूलाई यस्तै व्यवहारमाथि कडा नजर राख्न निर्देशन दिएका हुन सक्छन्।
कोलिनाले खेलाडीले विवादका क्रममा मुख छोपेमा रातो कार्ड दिनुपर्ने नियम लागू गरिसकेका छन्। निर्णयको विरोधमा मैदान छोड्ने खेलाडीमाथि पनि उनी कडा छन्। त्यस्तै सेट–पिसमा अवरोध सिर्जना गरेर गोल गरिएमा गोल नै रद्द गर्नुपर्ने पक्षमा पनि उनी छन्।
त्यसैले ज्वानेको घटना पनि खेलभित्रका नकारात्मक प्रवृत्ति नियन्त्रण गर्ने प्रयासकै एउटा हिस्सा हुन सक्छ।
मोन्तेसको रातो कार्ड पनि सही हुन सक्छ
तेस्रो रातो कार्ड सुरुआतमा विवादास्पद देखिए पनि त्यसलाई समर्थन गर्ने आधारहरू छन्। खुलिसो मुदाउ पेनाल्टी क्षेत्रतर्फ अघि बढिरहेका बेला सेजार मोन्तेसले लापरवाहीपूर्ण ट्याकल गरेका थिए।
मुदाउ केही फराकिलो कोणमा थिए, त्यसैले सुरुमा पहेँलो कार्ड पर्याप्त हुने जस्तो लाग्थ्यो। तर साम्पायोले सीधै रातो कार्ड देखाए।
भिएआरले हस्तक्षेप गर्ला भन्ने अपेक्षा गरिएको थियो। तर पुनः दृश्य हेर्दा मुदाउको अर्को स्पर्श सम्भवतः पेनाल्टी क्षेत्रभित्र हुने र नजिक कुनै डिफेन्डर पनि नरहेको देखिन्थ्यो।
अर्थात् उनले बल नियन्त्रण गरेर सिधै प्रहार गर्न सक्ने सम्भावना बलियो थियो। त्यसैले स्पष्ट गोल अवसर खोसिएको निष्कर्षमा पुग्न सकिन्थ्यो। यही कारण भिएआरले रेफ्रीको निर्णय उल्ट्याउन आवश्यक ठानेन।
उद्घाटन खेलमा तीन रातो कार्ड देखिए पनि यसैका आधारमा विश्वकप २०२६ लाई ‘रातो कार्डको विश्वकप’ भन्न हतार हुनेछ।
दुईवटा रातो कार्ड त समग्रमा हेर्दा सही निर्णय नै देखिन्छन्। एउटा निर्णय विवादास्पद भए पनि त्यसलाई पूर्ण रूपमा गलत भन्न सकिने अवस्था छैन।
१०४ खेल हुने विशाल प्रतियोगितामा यो खेल केवल एउटा अपवाद वा सांख्यिकीय असामान्यता पनि हुन सक्छ।
त्यसैले अहिले नै रेफ्रीहरू रातो कार्ड बाँड्न हतार भएका छन् भनेर निष्कर्ष निकाल्नु उचित देखिँदैन। विश्वकपको सुरुवात मात्रै भएको छ, बाँकी प्रतियोगिताले नै थप स्पष्ट पार्नेछ।