प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनामा भएको क्षति विशेष किसिमको भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा भदौ १० गतेको भोटेकोसी बाढीले गरेको जनधनको क्षतिका विषयमा जानकारी दिँदै प्रधानमन्त्री शाहले नेपालको जलविद्युत् आयोजनाका सुरुङमा बाढीले पुर्याएको क्षति अन्तर्राष्ट्रियस्तरमै नौलो भएको बताएका हुन्।
अन्तर्राष्ट्रियस्तरमा सुरुङमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्न सक्ने विज्ञता भए पनि नेपालको हकमा बाढीसहित हिलो तथा माटोले पूर्णरूपमा थुनिएकाले त्यसमा राम्रो विज्ञता कुनै देशसँग पनि नरहेको दाबी प्रधानमन्त्रीले गरेका छन्।
नेपालसँग पनि तत्कालै यस किसिमका उद्धार गर्न सक्ने प्रविधि र अनुभव नभएको उनले संसदमा भनेका छन्।
‘विभिन्न राष्ट्रमा जति उद्धार भएका थिए त्योभन्दा यहाँ नेपालमा बिल्कुलै फरक किसिमको अवस्था हो। त्यसैले जतिबेला बाढीले बगाएर ल्याएको हिलो सुक्छ, जतिबेला त्यहाँ अडिने ठाउँ हुन्छ र सुरुङमा पसेर ब्रेक गर्न सक्ने स्थिति बन्छ तब मात्रै उद्धार अघि बढाउन सकिन्छ,’ प्रधानमन्त्री शाहले भने।
उनले एउटा टनेलमा बिसौं एक्साभेटर लगाएर खोतल्नसमेत सम्भव नभएको बताए।
‘एक चोटिमा एउटा टनेलमा एक-दुईवटा भन्दा बढी एक्साभेटरले काम गर्न सक्दैन। त्यसको एउटा सीमा छ। सीमाभन्दा बाहिर गएर एक्सकाभेटर लगाउन सकिँदैन। उद्धारकर्ताहरूले आफ्नो काम गरिरहनु भएको छ। विचलित भएका छैनौँ’, प्रधानमन्त्री शाहले भने।