त्रिशूली–१ का बेपत्ताको खोजीमा कोरियाको केडीआरटी, ५ उद्धारकुकुर पनि साथमा

 संवाददाता    २०८३, १७ भाद्र बुधबार १२:२९     0 View



Spread the love

अत्याधुनिक उपकरणसहित दक्षिण कोरियाली उद्धार टोली नेपाल आइपुगेको छ।

गत साताको विनाशकारी बाढीमा परेर बुधबार बिहानसम्म ११ सय १४ जनाको शव फेला परिसकेको छ। झण्डै ४ हजार अझै सम्पर्कविहीन रहेको सरकारी तथ्यांक छ।

सम्पर्कविहीन हुनेमा कोरियाली नागरिकसमेत छन्। विशेषगरी उनीहरूको खोजी कार्यमा सघाउने हेतुले समेत दक्षिण कोरियाबाट दक्ष ४४ सदस्यीय कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) बुधबार नेपाल आइपुगेको हो।

दक्षिण कोरियाली वायुसेनाको केसी–३३० ‘सिग्नस’ मल्टिरोल एरियल ट्यांकर विमानमा आएको टोली बुधबार बिहान ६:२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयअन्तर्गत विकास सहयोगका महानिर्देशक ली क्यु–होको नेतृत्वमा आएको केडीआरटीमा राष्ट्रिय अग्नि नियन्त्रक निकायका ३७ जना कर्मचारी तथा परराष्ट्र मन्त्रालय र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) का अधिकारीहरू छन्।

टोलीले पाँचवटा खोज तथा उद्धारमा प्रयोग हुने कुकुरसहित भग्नावशेषमा फसेका मानिस पत्ता लगाउन प्रयोग हुने उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडियो उपकरण र थर्मल इमेजिङ उपकरणलगायतका विशेष सामग्री पनि ल्याएको छ।

नेपाली अधिकारीहरूसँग समन्वय गरी टोलीले विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोजी अघि बढाउनेछ। बाढीपछि सम्पर्कविहीन रहेका नौ जना दक्षिण कोरियाली नागरिकको खोजी उद्धार टोलीको प्राथमिकतामा रहनेछ। टोली करिब १० दिन नेपालमा रहने अपेक्षा गरिएको छ। तर, अवस्था हेरेर उद्धार टोलीको अवधि थपिन सक्ने बताइएको छ।

टोली बुधबार नेपाल आइपुगे पनि तत्कालै उद्धार सुरु भने नगर्ने टोली प्रमुख लीको भनाइ उद्धृत गर्दै कोरिया हेरल्डले जनाएको छ। उनका अनुसार नेपाली अधिकारीहरूसँग समन्वय गरेर उद्धारको काम अघि बढाउने उद्धार टोलीको तयारी छ।

टोलीले अहिले दक्षिण कोरियाको र्‍यापिड रेस्पोन्स टिम तथा नेपालस्थित दक्षिण कोरियाली दूतावासका अधिकारीहरूसँग छलफल गरिरहेको छ। त्यसपछि दिउँसो सम्भावित आधार शिविरको स्थानको निरीक्षण गर्ने तयारी छ।

नुवाकोटको बिदुरलाई कोरियाली उद्धार टोलीले सम्भावित ‘बेस स्टेसन’को रुपमा हेरेको छ। नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएको क्षेत्रको नजिक भएकाले बिदुरलाई आधार शिविरका लागि सम्भावित स्थानका रूपमा छनोट गर्ने तयारी छ।

केडीआरटीले आफ्नो खोज तथा उद्धारको कामलाई दक्षिण कोरियाली नागरिकको खोजीमा मात्र भने सीमित गरिने छैन। नेपालीसहित अन्य देशका बेपत्ता नागरिकको खोजी तथा उद्धारमा समेत टोलीले सहयोग गर्नेछ।

दक्षिण कोरियाले यसअघि भदौ ११ र १३ गते गरी दुईवटा सरकारी र्‍यापिड रेस्पोन्स टिम नेपाल पठाएको थियो। ती दुई टोलीमा कुल २० जना छन्। उनीहरूले हेलिकोप्टर, ड्रोन तथा स्थलमार्गबाट खोजी गरिरहेका छन्। तर, अहिलेसम्म नौ जना बेपत्ता दक्षिण कोरियाली नागरिकको खोजीमा उल्लेखनीय सफलता हात परेको छैन।

यसअघि र्‍यापिड रेस्पोन्स टिमले विमान तथा अन्य स्रोतसाधन प्रयोग गरी प्रत्येकपटक छुट्टाछुट्टै खोजी गर्दा प्रभावकारी नभएको नेपाली र कोरियाली पक्षको निष्कर्ष छ। नेपाल सरकारकै अनुरोधपछि नै केडीआरटी परिचालन हुने भएकाले टोलीले खोज तथा उद्धारलाई थप प्रभावकारी र व्यापक बनाउने तयारी गरेको छ।

कोरियाली र्‍यापिड रेस्पोन्स टिमको स्थल खोजी टोली अहिले बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्येको एक रसुवाको धुन्चे पुगिसकेको छ। धुन्चे माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको माथिल्लो बाँधबाट करिब २ किलोमिटरको दूरीमा छ। बेपत्ता रहेका नौ जना दक्षिण कोरियाली नागरिक यही आयोजनामा कार्यरत थिए।

विदेशमा हुने ठूला विपद्का बेला दक्षिण कोरियाको आपत्कालीन राहत तथा उद्धार समन्वय गर्ने सरकारी निकाय र सम्बन्धित निजी क्षेत्रका संस्थाहरू सम्मिलित सार्वजनिक–निजी ओभरसिज इमर्जेन्सी रिलिफ काउन्सिलको निर्णयपछि उक्त टोली नेपालमा परिचालन भएको छ।
केडीआरटी दक्षिण कोरिया सरकारको नेतृत्वमा परिचालित हुने आपत्कालीन उद्धार इकाइ हो।

विदेशमा आइपर्ने ठूलो विपद्पछिको खोज तथा उद्धार, चिकित्सकीय सहायता तथा अन्य राहत कार्यका लागि यसलाई परिचालन गर्ने गरिएको छ। टोली परिचालन गर्ने निर्णय दक्षिण कोरियाको ओभरसिज इमर्जेन्सी रिलिफ ऐनअन्तर्गत सार्वजनिक–निजी ओभरसिज इमर्जेन्सी रिलिफ काउन्सिलले गर्छ।

नेपालमा हुने यो उद्धार केडीआरटीको १२औँ अन्तर्राष्ट्रिय परिचालन हो। यसअघि दक्षिण कोरियाले टर्कीको सन् २०२३ को भूकम्प, लाओसमा सन् २०१८ मा भएको बाँध दुर्घटना तथा नेपालमा सन् २०१५ मा गएको विनाशकारी भूकम्पलगायतका ठूला विपद्का क्रममा उद्धार टोली पठाएको थियो।

भोटेकोसी बाढीले क्षति पुर्‍याएका ११ विद्युत् आयोजनामध्ये कोरियाली लगानीमा निर्माण भइरहेको माथिल्लो त्रिशूली-१ बाट नै सबैभन्दा धेरै सम्पर्कविहीन छन्।

बाढीपछि ५७३ जना सम्पर्कविहीन भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ।

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा फसेकाहरूमध्ये सोमबार तीन जनाको मात्र उद्धार भएको थियो। हालसम्म उद्धार र सम्पर्क आएकाहरुको संख्या ८७३ छ। यसैगरी परामर्शदाता कम्पनी, ठेकेदार कम्पनीसहित आयोजनाका कर्मचारीहरु गरी ५७३ हराइरहेका छन्।

यसमध्ये ३०० जना सुरुङभित्र काम गर्नेहरु हराइरहेका छन्।

उनीहरु सुरुभित्र बसेर काम गरिरहेका थिए वा भित्र प्रवेश गर्न बाँकी थियो भन्ने यकिन भएको छैन। सो दिन आयोजनामा करिब साढे १४०० सय जनाले काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ।