संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासले नेपालको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित परिवारलाई सघाउन तत्काल घर फर्कनुपर्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुलाई आफ्नो विवरण दर्ता गराउन अनुरोध गरेको छ ।
गत बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित जिल्लाका नेपाली कामदारहरुलाई घर फर्कन रोजगारदाता कम्पनीबाट बिदा वा अनुमति पाउन कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै दूतावासले यो कदम चालेको हो ।
दूतावासले सूचना जारी गर्दै पीडित श्रमिकहरुलाई आवश्यक समन्वय र सहजीकरणका लागि आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
घर फर्कन समस्यामा परेका श्रमिकहरुले आफ्नो विवरण नेपाली राजदूतावास, अबुधाबी वा नेपाली महावाणिज्यदूतावास, दुबईमा आधिकारिक रुपमा दर्ता गराउन सक्ने दूतावासले जनाएको छ ।
यसका लागि कन्सुलर सेवा विभागको अनलाइन पोर्टलमा गएर आफ्नो समस्या वा गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।
दूतावासका अनुसार विवरण दर्ता गर्दा आफ्नो वास्तविक समस्या र घर फर्कनुपर्ने स्पष्ट कारण खुलाउनु आवश्यक छ । जसले गर्दा सम्बन्धित निकाय र कम्पनीसँग समन्वय गर्न सहज हुनेछ ।
विवरण दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन श्रमिकहरुले आफ्नो पूरा नाम, थर, बाढी प्रभावित जिल्ला, हाल यूएईमा बसोबास गरिरहेको ठेगाना, र सम्पर्क मोबाइल नम्बर उपलब्ध गराउनुपर्नेछ ।
यसका साथै आफ्नो राहदानी नम्बर (सकेसम्म प्रतिलिपिसहित), कार्यरत कम्पनीको नाम र ठेगाना, तथा कम्पनीका एचआर म्यानेजर वा प्रायोजकको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना पनि भर्नुपर्नेछ ।
आफ्नो विवरण दर्ता गराउँदा नेपाल फर्कनुपर्ने संक्षिप्त कारण र कम्पनीबाट बिदा पाउन भोग्नुपरेको कठिनाइको स्पष्ट उल्लेख गर्न समेत दूतावासले अनुरोध गरेको छ ।