अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानलाई कुनै पनि वार्ताका लागि टेबलमा ल्याउने प्रयासमा नरहेको बताएका छन्।
मंगलबार राति सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले आफ्नो प्रशासनले इरानलाई वार्ताका लागि बाध्य पार्न खोजिरहेको भन्ने एबीसी न्युजको रिपोर्टलाई ‘फेक न्युज’ भन्दै खारेज गरेका हुन्।
ट्रम्पले इरानसँग सम्झौता गर्न आफूलाई कुनै चासो नरहेको बताएका छन्। उनले लेखेका छन्, ‘एबीसीले दिएको रिपोर्ट फेक न्युज हो। म इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेको छैन।’
उनले अहिलेको अवस्थाप्रति आफू सन्तुष्ट रहेको समेत बताएका छन्। ‘मलाई अहिलेको अवस्था बढी मन परेको छ, जहाँ होर्मुज जलघाँटीमा हाम्रो लगभग पूर्ण नियन्त्रण छ र इरानको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त भइरहेको छ,’ ट्रम्पले भने।
इरानले आफूहरूले टार्न नसकिने प्रक्रियालाई केवल ढिलाइ गरिरहेको उनको दाबी छ। उनले प्रश्न गर्दै लेखेका छन्, ‘आखिर इरानका जनता कहिले आवाज उठाउनेछन् र आफ्नो अधिकारका लागि लड्नेछन्?’
यी टिप्पणी गर्नुभन्दा केही घण्टाअघि ट्रम्पले होर्मुज जलमार्ग नजिक इरानी ठेगानामा अमेरिकाले गरेको पछिल्लो आक्रमणको बचाउ गरेका थिए। उनले इरानले त्यसको जवाफ दिएमा अमेरिकाले अझ कडा आक्रमण गर्ने चेतावनी दिएका थिए।
तर इरानले भने अमेरिकाले विवाह समारोह भइरहेको र सर्वसाधारण उपस्थित रहेको स्थानलाई निशाना बनाएको आरोप लगाएको छ।
इरानी अधिकारीहरूका अनुसार अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।