सातामा २ दिन बिदा निर्णयमाथि पुनर्विचार गर्दै कोशी सरकार

 संवाददाता    २०८३, २४ जेष्ठ आईतवार १४:५६     14 जनाले पढ़िसके



Spread the love

कोशी प्रदेश सरकारले साताको २ दिने बिदालाई पुनर्विचार गर्न गृहकार्य थालेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसका लागि सुझाव मागेका छन् ।

२ दिने बिदाले खर्च तथा इन्धन खासै उपलब्धि नदेखिएको उनको निचोड छ ।

कार्कीले लेखेका छन्- कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत कार्यालयलाई हप्ताको ६ दिन नै कार्यदिन बनाएर (साबिक झैँ बिदा शनिबार १ दिन मात्रै) कायम गर्दा कस्तो होला ? हप्ताको ५ दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा इन्धन बचतमा खासै उपलब्धि देखिएन । यहाँको सुझाव पाउँ !

केन्द्र सरकारले गत चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयबाट सातामा २ दिन सार्वजनिक बिदा दिने र कार्यालय समय ९-५ बनाउने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मुख्य कारण देखाउँदै यस्तो निर्णय लिएको सरकारको भनाइ छ ।

तर, २ दिन बिदाले सेवाग्राही र अस्पतालमा ओपीडी बिरामीलाई मार परेको, शिक्षण संस्थासमेत बिदा हुँदा विद्यालयमा कोर्स सक्ने दबाबदेखि विद्यार्थी र अभिभावकसमेतलाई समय व्यवस्थापन गर्न अव्यवहारिक भएको भन्दै आलोचना बढिरहेको छ ।