कांग्रेसभित्र गगनमाथि आलोचना, ‘जेन–जी राजनीति’मा केन्द्रित भएको आरोप

 संवाददाता    २०८३, ७ श्रावण बिहीबार १५:३६     0 View



Spread the love

२००७ को क्रान्तिदेखि २०६२–६३ को जनआन्दोलन सम्म वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको वैचारिक तथा सांगठनिक जगमा उभिएको नेपाली काँग्रेस अहिले आफ्नो इतिहासकै गम्भीर मोडमा पुगेको छ।

आगामी मङ्सिरमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय भए पनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द्व ६ महिना बित्दासमेत टुंगोमा पुग्न सकेको छैन। दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगनकुमार थापा र संस्थापन इतरपक्ष (खड्का–कोइराला समूह) बीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ।

विशेष महाधिवेशनपछि संस्थापन इतरपक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेलामार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ। पार्टी एकताका लागि निरन्तर प्रयास र लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ।

राजनीतिक विश्लेषकहरूकाअनुसार विशेष महाधिवेशनको जनादेश र रूपान्तरणको नारा दिएर नेतृत्वमा आएका सभापति थापाका लागि १५औँ महाधिवेशनअघिको यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ।

नेतृत्वको कार्यशैली र इतरपक्षको असन्तुष्टि
विवादको मूल केन्द्रमा विशेष महाधिवेशनपछिको नेतृत्वको कार्यशैली, अद्यावधिक प्रक्रिया र १५ औँ महाधिवेशनको कार्यदिशा रहेको छ। संस्थापन इतरपक्षले सभापति थापाले पार्टीका अग्रज नेताहरूलाई पाखा लगाएर एकलौटी ढङ्गले पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाउँदै आएको छ।

पार्टीका कार्यकर्ता महेन्द्रकुमारी लिम्बू सभापति थापाले बिपीको सिद्धान्त र इतिहास बोकेका नेताहरूलाई पाखा लगाएर जेन–जी पुस्ताको पछाडि मात्र लागेको बताउँछिन्। २००७ सालमा ब्रिटिस आर्मी छोडेर बिपीसँगै आन्दोलनमा होमिएका योद्धाकी सन्तान लिम्बूले कांग्रेस कसैको पेवा वा निजी सम्पत्ति नभएको टिप्पणी गरिन्।

‘अग्रज नेताहरूलाई त्यसै पाखा लगाएर जबरजस्ती बल छ भन्दैमा हुन्छ? विशेष महाधिवेशनमा ल्याएर नेताहरूलाई सम्मान गर्नुपर्थ्यो’ उनले भनिन्, ‘हामीले दुवै पक्षलाई मिल्न भनेका छौँ, तर मिलाउने मुख्य दायित्व विशेष महाधिवेशनबाट आएका पार्टी सभापति गगन थापाकै हो। १५ औँ महाधिवेशनका लागि ७ सय तिरेर बनेका कार्यकर्तालाई मिलाएर र नेताहरूलाई सम्मान गरेर लैजाने काम उहाँकै हो।’

संवादहीनता र नेतृत्वमाथि दोषारोपण
पूर्व महाधिवेशन प्रतिनिधि बलराम खतिवडाकाअनुसार संस्थापन इतरपक्ष एकताका लागि हदैसम्म लचिलो बन्दा पनि वर्तमान नेतृत्व संवादबाट भागेको छ। संस्थापक नेताहरू शेरबहादुर देउवा, शेखर कोइराला, शशांक कोईरालासहितका शीर्ष नेताहरू पार्टीलाई एक बनाएर लैजाने पक्षमा रहे पनि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले बेवास्ता गरेको उनको आरोप छ।

‘हामीले नियमित महाधिवेशन पक्षधरका मान्छेले पार्टी मिल्नुपर्छ भनेर बारम्बार संवादका लागि आग्रह गर्‍यौ, मिलाउने काम त नेतृत्वको हो। उनीहरू संवादबाट भागेर एकलौटी तरिकाले पार्टीलाई फुटतर्फ लैजाँदै हुनुहुन्छ’ खतिवडाले भने, ‘अझै पनि फुटिसकेको छैन, तर विभाजन भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्छ।’

युवा जोश र पुराना पुस्ताको अनुभवको प्रश्न
विशेष महाधिवेशनपछि कांग्रेसभित्र युवा पुस्ता र पुराना पुस्ताबीच वैचारिक दूरी समेत बढेको छ। बागमती प्रदेश सदस्य कल्पना खड्का युवाको उत्तेजना, आक्रोश र आवेगले मात्रै पार्टी चल्न नसक्ने तर्क गर्छिन्।

‘हिजो महामन्त्री र सभापति बनाउन हामी सबैले गगन थापालाई नै भोट दिएका हौँ। तर युवाको नाममा पुराना पुस्तालाई बाहेक गरेर जान मिल्दैन’ उनले भनिन्, ‘नेपालको जनसङ्ख्यामा युवा मात्रै छैनन् कांग्रेस भनेको युवाको जोस र पुराना पुस्ताको अनुभवको समावेशी रूप हो।’ अर्का नेता एवं काठमाडौँका पूर्व जिल्ला सभापति भीमसेनदास प्रधान भने गगन थापाले आगामी स्थानीय निर्वाचनमा पहिलो पार्टी बन्ने सम्भावना रहे पनि विभाजनले ठूलो क्षति पुर्‍याउने उनको विश्लेषण छ।

‘गगनजीकै पहलबाट पार्टी मिलाउनुपर्छ, पार्टी मिलाउँदा सबभन्दा पहिला फाइदा गगन थापालाई नै हुन्छ। उहाँ सबैको नेता हुनुहुनेछ, नत्र उहाँ विशेष महाधिवेशनको मात्र नेता हुनुहुनेछ’ उनले भने, ‘हामी मिलेर नगए नेपाली काँग्रेसको हालत भारतको काँग्रेस जस्तै हुनेछ।’

बिपीको विरासत र राष्ट्रिय स्थिरता
पार्टी कार्यकर्ताहरू यमुना खड्का विश्वकर्मा र बिन्दा देवी अर्याल कांग्रेस फुटे देशमा राजनीतिक अस्थिरता सिर्जना हुने बताउँछन्। ८० वर्षको उमेरमा पनि गिरिजाप्रसाद कोइरालाले २०५२ देखि २०६२–६३ को आन्दोलनलाई अवतरण गराएको प्रसङ्ग उल्लेख गर्दै अर्यालले उमेर भन्दा पनि नेतृत्वको क्षमता र विचार मुख्य हुने बताइन्।

‘काम गर्न उमेरले छेक्दैन । १५ औँ महाधिवेशनमा दुवै पक्ष मिलेर गए मात्रै राम्रो फल फल्छ र कांग्रेस बन्छ’ अर्यालको भनाइ छ।

पार्टीभित्र बढ्दो ध्रुवीकरण र तल्लो तहसम्म फैलिएको असन्तुष्टिलाई नियाल्दा नेपाली कांग्रेस इतिहासकै कठिन मोडमा पुगेको देखिन्छ। एकातिर १५औँ महाधिवेशनमार्फत पार्टीलाई नयाँ गति दिने चुनौती छ भने अर्कोतिर ऐतिहासिक विरासत बोकेको पार्टीलाई विखण्डनबाट जोगाउने दायित्व छ।