अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमण, एसेन्ट समिटमा उपस्थिति

 संवाददाता    २०८३, १७ जेष्ठ आईतवार १४:०६     14 जनाले पढ़िसके



Spread the love

सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले जेठ १७ गते काठमाडौँमा आयोजित एसेन्ट समिट २०२६ कार्यक्रममा मुख्य मन्तव्य प्रस्तुत गरेकी छन्।

अमेरिकी तथा नेपाली व्यवसायहरूलाई लाभ पुर्‍याउने नवप्रवर्तन र आर्थिक साझेदारीहरूको विस्तारका अवसरहरूलाई बढवा दिँदै उहाँ प्रतिनिधि सभाकी सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्निमा उदास, प्रख्यात पर्वतारोही कनर्‍याड एङ्कर, पर्वतारोहण अभियानका अगुवा, नवप्रवर्तक, आरोही, उद्धार पेसाकर्मी, पर्वतारोहण सामग्री व्यवसायी, पत्रकार र नेपाल तथा विश्वभरका पर्यटन क्षेत्रका नेतृत्वकर्ताहरूसँग सामेल भएकी हुन्।

उनले साहसिक कार्य, उद्यमशीलता, नवप्रवर्तन र जनता-जनताबिचका सम्बन्धहरूले कसरी द्विपक्षीय सहयोगको विस्तार गर्नुका साथै नेपालमा अमेरिकी कम्पनीहरू र आर्थिक वृद्धिका लागि अवसर सिर्जना गर्दै छन् भन्नेबारे जोड दिइन्।

उनले हिमालयमा पर्यटन र अझ सुरक्षित पर्वतारोहण अभियानलाई सहयोग पुर्‍याउनमा नेतृत्व, नवीन प्रविधि, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वमाथि पनि जोड दिइन्।

नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल पर्यटन बोर्ड र सेभेन समिट ट्रेक्ससँगको साझेदारीमा आयोजित एसेन्ट समिट २०२६ ले सगरमाथा र पर्वतीय अन्वेषणको भविष्यसँग जोडिएका १४०० भन्दा बढी सहभागीहरूलाई एकै ठाउँमा ल्याएको छ।

पर्वतारोही, पर्वतारोहण अभियानका अगुवा, नवप्रवर्तक, पर्वतारोहण सामग्री व्यवसायी, सामुदायिक अगुवा, कलाकार र पर्यटन क्षेत्रका नेतृत्वकर्ताहरूले नेपालको पर्वतारोहण विरासत र अमेरिकी नवप्रवर्तनले कसरी पर्वतारोहण अभियानहरूलाई अझ सुरक्षित बनाउन र नेपालको साहसिक पर्यटन क्षेत्रको सुदृढीकरण गर्न सक्छन् भन्ने विषयमा विमर्श गरेका छन्।

नेपाल भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले वरिष्ठ सरकारी अधिकारी, अमेरिकी चेम्बर अफ कमर्सका सदस्य र अमेरिकी सरकारका आदानप्रदान तथा शैक्षिक कार्यक्रमका पूर्वसहभागीहरूसँग पनि भेट गर्नेछिन्।

उपविदेशमन्त्री रोजर्सको नेपाल भ्रमणले अमेरिका र नेपालबिच लामो समयदेखि रहेको साझेदारीलाई विस्तारित आर्थिक सहकार्य, नवप्रवर्तन र जनता-जनताबिचका सम्बन्धहरूमार्फत अझ सुदृढ बनाउनप्रति अमेरिकी प्रतिबद्धताको पुनर्पुष्टि गर्छ।