इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आइतबार इरानी हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी एमक्यू-१ ड्रोन खसालिएको दाबी गरेको छ।
इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमका अनुसार आईआरजीसीको वायु रक्षा एकाइले अमेरिकी ड्रोन खसालेको हो।
आईआरजीसीका अनुसार ‘हवाई रक्षा र निगरानी प्रणालीले ड्रोनलाई तुरुन्तै चिनेको थियो। त्यसपछि त्यसलाई उन्नत मिसाइल प्रणालीले खसालिएको हो।’
इरानले ड्रोन अमेरिकी सेनाको भएको र शत्रुतापूर्ण कारबाही गर्ने उद्देश्यले हवाई क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ।
यस विषयमा अमेरिकी केन्द्रीय कमान्डले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा इरानसँग सम्झौता गर्न हतार नभएको बताएका छन्।
उनले भनेका छन्, ‘अमेरिकाले बिस्तारै आफ्ना सर्त पूरा गरिरहेको छ। हामी उत्तम सम्झौता गर्नेछौँ र यदि त्यसो भएन भने सैन्य माध्यमको सहारा लिनेछौँ।’
ट्रम्पले इरान आणविक हतियार खरिद नगर्न सहमत भएको दाबी पनि गरेका छन्।
उनले अन्तर्वार्तामा भनेका छन्, ‘पहिले इरान आणविक हतियार नबनाउन सहमत भयो। त्यसपछि मैले सोधेँ- किन्नेचाहिँ हो कि? तर इरानले आणविक हतियार नबनाउने र नकिन्नेमा सहमति जनाएको छ।’