एसियन गेम्सको सपना अधुरै, चीनविरुद्ध नेपाल पराजित

 संवाददाता    २०८३, १७ जेष्ठ आईतवार ११:४९     23 जनाले पढ़िसके



Spread the love

नेपाली महिला क्रिकेट टीमले एसियन गेम्स छनोटमा चीनसँग पराजय खेपेको छ । आजको पराजयसँगै नेपाल एसियन गेम्समा स्थान बनाउन चुक्यो ।

पुरुष क्रिकेट टीमले चीनमाथि एकतर्फी जित हासिल गर्दा महिला टीमले भने हार स्वीकार्न बाध्य भएको हो । वर्षाका कारण ७ ओभरमा छोट्याइएको म्याचमा नेपालले ५ विकेट गुमाएर ५० रन जोडेको थियो । चीनले डीएल मेथड अनुसार ४३ रनको विजयी लक्ष्य पायो ।

अन्तिम ओभरको अन्तिम बलमा चौका हान्दै चीनले लक्ष्य भेटेको हो ।

कमजोर ठानिएको चीनविरुद्ध नेपाली महिलाहरुले खराब ब्याटिङ गरे । नेपालले २६ रनमै ५ विकेट गुमाएको थियो । सम्झना खड्का ५ रन, पुजा महतो १ रन, सोनी पाख्रिन ५ रन, रुवि पोद्दार शून्य र कप्तान इन्दु बर्मा ११ रनमा आउट भएका थिए । छैटौं नम्बरमा आएकी कविता कुँवरले भने १० बलमा २२ रन बनाउँदै नेपाललाई थोरै राहत दिएकी थिइन् ।

जवाफी ब्याटिङमा चीनकी ओपनर तथा कप्तान मिङयु झुले १३ बलमा १८ रन हान्दै टीमलाई अघि बढाइन् । अन्तिम ओभरमा चीनलाई जितको ७ रन आवश्यक थियो । सरिता मगरले पहिलो ५ बलमा ५ रन दिएर एक विकेट लिइन् । अन्तिम बलमा चीनलाई दुई रन चाहिँदा काइ युजीले चौका हान्दै चीनलाई जिताइन् ।