बाघका लागि उपयुक्त बासस्थान बन्दैछ शुक्लाफाँटा

 संवाददाता    २०८२, १० पुष बिहीबार १२:३८     76 जनाले पढ़िसके



Spread the love

सुदूरपश्चिमको कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रफलका हिसाबले सानो भए पनि बाघका लागि अनुकूल क्षेत्र बनेको छ । पछिल्ला वर्ष बाघको संख्या बढेको अनुमान गरिएको यो निकुञ्जमा यकिन संख्या पत्ता लगाउन बाघ गणनाको तयारी भइरहेको छ ।

नेपाल सरकारले बाघको संख्या अद्यावधिक गर्न देशका विभिन्न निकुञ्जलाई तीन वटा क्लस्टर (समूह)मा विभाजन गरी गणना कार्य अघि बढाएको छ । शुक्लाफाँटा तेस्रो क्लस्टरमा पर्छ । अहिले चितवन–पर्सा, बाँके– बर्दियाका जङ्गलमा बाघ गणनाको काम धमाधम भइरहेको छ । त्यहाँको काम सकिएपछि मात्र प्राविधिक टोली शुक्लाफाँटा आइपुग्नेछ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीका अनुसार अन्य निकुञ्जमा गणना सकिएपछि शुक्लाफाँटाको पालो आउने भएकाले अबको करिब दुई महिनाभित्र शुक्लाफाँटामा पनि बाघ गन्न सुरु गरिनेछ ।

‘हामी प्राविधिक रूपमा तयार छौँ । उताको टोली आउनासाथ क्यामेरा ट्रयापिङको काम सुरु हुन्छ,’ जोशीले भने ।

सन् २०२२ मा गरिएको राष्ट्रिय गणनाले शुक्लाफाँटामा ३६ वटा बाघ रहेको देखाएको थियो । निकुञ्जको आन्तरिक अनुगमनले भने त्यो संख्या अझ बढेको सङ्केत गरेको छ । निकुञ्ज कार्यालयको पछिल्लो आन्तरिक रिपोर्ट अनुसार अहिले यहाँ बाघको संख्या ४३ पुगेको अनुमान छ ।

गत वर्षको अनुगमनमा ४४ वटा बाघ क्यामेरामा कैद भएका थिए, तर यस वर्ष एउटा बाघ कम देखिएको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार कहिलेकाहीँ बाघ क्यामेरामा नपर्न पनि सक्छ वा प्राकृतिक कारणले मृत्यु भएको पनि हुन सक्छ । यस वर्ष दुई वटा बाघ प्राकृतिक रूपमै मरेका पनि छन् ।

‘३०५ वर्ग किलोमिटरको सानो क्षेत्रफलमा ४३ वटा बाघ हुनु आफैँमा ठुलो उपलब्धि हो,’ उनले भने ।

वाग्लेका अनुसार पर्याप्त आहारा भएका कारण सानो क्षेत्रफलमा पनि यति धेरै बाघ अटाएका हुन सक्छन् । शुक्लाफाँटामा बाघले खान मन पराउने मृग प्रजातिका जनावरको बाहुल्यता छ । तथ्याङ्क अनुसार यहाँ प्रतिवर्गकिलोमिटर १४६ वटा आहारा प्रजाति छन्, जुन नेपालकै सबैभन्दा धेरै हो ।

बाघले हप्तामा एक पटक सिकार गर्छ । उसलाई करिब ५० केजी मासु चाहिन्छ । शुक्लाफाँटामा जरायो, बाह्रसिङ्गा, चित्तल, रतुवा र लगुना जस्ता जनावर प्रशस्त पाइन्छन् । आहाराको यही सहज उपलब्धताले गर्दा बाघहरू मानव बस्तीतिर नपसी निकुञ्जकै सुरक्षित घेराभित्र रमाउने गरेका छन् ।

आहारा र बासस्थानको राम्रो तालमेल मिलेकै कारण यहाँ बाघ व्यवस्थापनमा खासै समस्या नदेखिएको वाग्लेले बताए ।

वन्यजन्तु विज्ञहरूका अनुसार एउटा भाले बाघलाई आफ्नो प्रभुत्व जमाउन ५० देखि ६० वर्ग किलोमिटर क्षेत्र चाहिन्छ भने पोथी बाघलाई २० देखि ३० वर्ग किलोमिटर । शुक्लाफाँटाको सीमित भूगोलमा बाघको संख्या बढ्दै जाँदा उनीहरूबिच आफ्नो क्षेत्रका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक हो । घना जङ्गल र पर्याप्त पानीका स्रोतहरूले गर्दा बाघहरू मिलेरै बसेको वाग्लेको भनाइ छ ।

यसपटकको गणनामा पनि अत्याधुनिक अटोमेटिक क्यामेरा प्रयोग गरिनेछ । बाघ हिँड्ने बाटो, पानी पिउने ठाउँ र घुमफिर गर्ने क्षेत्रहरूमा क्यामेरा जडान गरेर उनीहरूको हाउभाउ र संख्या कैद गरिनेछ । बाघ गणनाका लागि निकुञ्जका दुई कर्मचारी अहिले चितवनमा तालिम र अनुभव लिइरहेका छन् ।