कपुरलाई संयुक्त राज्य अमेरिका दूतावासमा औपचारिक स्वागत

 संवाददाता    २०८३, ७ बैशाख सोमबार १२:०७     12 जनाले पढ़िसके



Spread the love

दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर आज बिहान काठमाडौँ आइपुगेका छन्।

कपुललाई नेपालस्थित अमेरिकी दूतावासमा कार्यबाहक राजदूत स्कट अरबमले स्वागत गरेका छन्।

‘हामी दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुरलाई नेपालमा न्यानो स्वागत गर्दछौँ,’ सहायक विदेशमन्त्री कपुरलाई स्वागत गर्दै अरबमले भने, ‘उहाँले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यवसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुनेछ।’

अमेरिकी सहायक विदेशमन्त्री कपुर बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्।

नेपाल भ्रमणकै लागि मात्र भनेर उनी अमेरिका बाहिर निस्केका हुन्। अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण, दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गर्थे।

स्रोतका अनुसार उनले टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके ७२६ बाट यात्रा गरेका थिए। सहायक विदेशमन्त्री कपुर चढेको जहाज बिहान करिब ६ बजेर २० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

काठमाडौँ रहँदा उनले बालेन सरकारको आर्थिक प्राथमिकता बारे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग छलफल गर्नेछन्। मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टको छिटो कार्यान्वयनमा अमेरिकी चासो रहँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ अक्टोबरमा दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुकलाई हटाएका थिए।

उनको ठाउँमा सुरक्षा मामिला विज्ञ कपुरलाई नियुक्त गरेका थिए। भारतको नयाँ दिल्लीमा जन्मिएका कपुर दक्षिण एशिया मामिलाको धरातलीय यथार्थ राम्रोसँग बुझ्ने, विश्लेषण गर्ने क्षमता राख्छन्।