राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अब नयाँ ढङ्गले अघि बढ्ने बताएका छन्।
पार्टीका सांसदहरुलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महाधिवेशन उचित समयमा हुने बताए।
प्रदेशगत चुनावी समीक्षा बैठकपछि कार्यसम्पादन र केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनबारे निर्णय लिने बताए।
उनले भने, ‘कसैलाई पनि भ्रम नरहोस्, महाधिवेशन एक दिन पनि पर टार्नुपर्ने, एक दिन कार्यकाल लम्बाउनुपर्ने कारण छैन। म त्यो चाहन्न पनि। तर महाधिवेशन वैधानिक र व्यवस्थित हुनुपर्यो।’
उनले पार्टीभित्रको अबको समस्याको समाधान महाधिवेशन भएको बताए।
महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नभए पार्टी समाप्त हुने भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै उनले भने, ‘आफ्नो जिल्लामा एउटा वडा कमिटी पनि नबनाउने, चुनावमा उम्मेदवार नबन्ने, उम्मेदवारलाई सघाउन पनि नहिँड्ने, पार्टीलाई राष्ट्रिय पार्टी पनि बन्न दिनु हुँदैन भनेर हिँड्नेहरूले बाटोमा महाधिवेशन हुनुपर्यो भन्ने कुरामा हामी आकर्षित हुँदैनौँ। त्यस्तो कुरा सुनिँदैन। बैठकमा कुरा हुन्छ।’
उनले महाधिवेशनबाट पछाडि हट्नुपर्ने कुनै कारण नभएको बताए।
उनले विगतमा सम्झौता गरेर यहाँसम्म आएको भएपनि पार्टीलाई खरानी बनाउँछु भनेर हिँड्नेहरुसँग कुनै सम्झौता नगर्ने बताए।