फरक विचारलाई स्थान दिनुपर्ने ज्ञानेन्द्र शाहीको धारणा

 संवाददाता    २०८३, ७ बैशाख सोमबार १६:२३     5 जनाले पढ़िसके



Spread the love

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीभित्र फरक विचार राख्नेहरूलाई सम्मान गर्दै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै आफू चुनाव जितेपछि सबैको साझा प्रतिनिधि भएको बताए।

उनले भने, ‘मेरो विरुद्धमा भोट हाल्नेको कुरा पनि सुन्नुपर्छ, किनभने जितेपछि म सबैको प्रतिनिधि हुँ। त्यसैले यो पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानका साथ अगाडि बढाउन सक्नुपर्छ। यदि त्यो सकेनौँ भने भोलि हामीमा तानाशाही प्रवृत्ति हुन सक्छ।’

पार्टीभित्र असहिष्णुता बढे तानाशाही प्रवृत्ति जन्मिन सक्ने उनको भनाइ छ। उनले नेतृत्वमाथि अहिलेसम्म भ्रष्टाचारको आरोप नलागेको उल्लेख गर्दै इमानदारीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘पार्टीको प्रदेश सांसदहरू हुनुहुन्छ, स्थानीय तहमा चुनाव जितेका छौँ, संघमा छौँ, यो राष्ट्रिय पार्टी हो, राष्ट्रिय पार्टी बनेको छ। त्यो भएको हुनाले अहिले हेर्नुस् त अहिले भ्रष्टाचारका काण्डहरू आए, फाइलका फाइलहरू आएका छन्, तर राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वप्रति अहिलेसम्म एउटा प्रश्न उठेको छैन।’

उनले पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूलाई धैर्यता राख्दै एकजुट हुन आह्वान गरे। पार्टीले आफ्ना कमी–कमजोरी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘पार्टीसँग विमति होइन, उम्मेदवारसँग विमति छ। एमाले भित्रका यदि पार्टी नै खत्तम भएको भए युवाहरूले कसरी जित्थे होलान् तरु एमालेका युवाहरूले जितेर आएका छन्। हामीले कहीँ कतै केही कमी–कमजोरी गरेका छौँ कि भनेर त्यो आत्मसमीक्षा गरौँ।’

उनले अध्यक्षको नीति, नियम र अनुशासनमा पालना गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए।

उनले भने, ‘यो पार्टीले प्रजातान्त्रिक अभ्यासलाई अवलम्बन गर्छ। आज म पार्टीका विरुद्धमा गएका साथीहरू पनि यो मञ्चमा देख्न चाहन्थे। उनीहरूको कुरा पनि सुनौँ के फरक पर्छ। पार्टीविरुद्ध गएका छन् भने भोलि विभिन्न हाम्रो अनुशासन समितिहरू छन्, पार्टीको विधान छ, पार्टीको नीति छ, त्यसमा गर्ने कुरा छँदै छ। कहिलेकाहीँ गुनासो हुन्छ, तपाईँको सचिवालयले हामीलाई बोलाइदिएन भन्छ, त्यसो होइन यो पार्टी सबैको साझा हो।’