पाकिस्तानमा भ्यान दुर्घटनाः १३ जनाको मृत्यु, २० भन्दा बढी घाइते

 संवाददाता    २०८२, ९ बैशाख मंगलवार १६:५१     78 जनाले पढ़िसके



Spread the love

दक्षिणी पाकिस्तानमा एउटा भ्यान खाल्डोमा पल्टिएर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

सोमबार राति भएको उक्त दुर्घटनामा २० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी सिन्हाका अनुसार मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेका पनि छन् । दुर्घटनाको कारण भ्यानको तीव्र गति रहेको बताइएको छ।

यो दुर्घटना पाकिस्तानको सिन्ध प्रान्तमा भएको हो । दामशोरो जिल्लाको पहाडी क्षेत्रमा भ्यानले सन्तुलन गुमाएको र गहिरो खाडलमा खसकेको थियो ।

समाचारमा जनाइएअनुसार यो भ्यानमा कोल्ही जनजातिका मानिसहरू थिए । भ्यान पञ्जाबको लापरीबाट सिन्धको बदिन जाँदै थियो । दुर्घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेको र उद्धार टोलीले सबै घाइतेहरूलाई खाडलबाट बाहिर निकालेर नजिकैको अस्पतालमा भर्ना गरेको छ ।

घटनाबारे जानकारी दिँदै उपायुक्त गजनफर कादरीले भ्यानमा धेरै मजदुरहरू पनि रहेको बताएका छन् । यी सबै मजदुर बलुचिस्तानमा गहुँ काट्न गएका र त्यहाँ काम सकेर घर फर्किँदै गरेका थिए ।

उद्धार टोलीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ । घाइते भएका धेरैको अवस्था नाजुक देखिएको छ ।

पाकिस्तानमा खराब सडक, पुराना सवारी साधन र तीव्र गतिमा गाडी चलाउने कारण बर्सेनि दुर्घटनामा सयौँको ज्यान जाने गरेको छ ।