काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित सानागाउँमा वैशाख ७ मा पुतली तामाङको हत्या भयो । सिन्धुली माइती भएर आफ्ना दुई बच्चासँगै शंखरापुरमा बस्दै आएकी पुतलीको खुकुरी प्रहार गरेर हत्या गरिएको प्रहरीको निष्कर्ष छ ।
हत्यामा संलग्न आरोपी रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका पदमबहादुर तामाङ फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनले भने, ‘आरोपी फरार छन्, हत्याको यकिन कारण खुलेको छैन ।’
पदम र पुतलीले वैधानिक रूपमा विवाह गरेका छैनन् । तर, ५८ वर्षका पदम २०८१ माघ महिनादेखि पुतलीसँगै बस्दै आएको छिमेकीहरूले बताएका छन् । यसअघि दुई जनासँग विवाह गरेका पदमले मादक पदार्थ सेवन गरेर पुतलीको हत्या गरेका हुन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘मदिरा सेवन गरेर घाँटीमा अगाडीपट्टिबाट रेटेर हत्या गरेको देखिन्छ ।’
हत्यापछि पुतलीसँगै रहेका दुई जना नाबालकलाई पनि आक्रमण गरेर उनी फरार भएका हुन् । घाइते अवस्थामा भेटिएका ११ वर्षीय बालक र १० वर्षीया बालिकाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरू खतरा मुक्त छन् । मृतकको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ ।