काठमाडौँ महानगरका मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहमाथि हदैसम्मको कारबाही गर्न महानगरका स्थानीय कर्मचारी संगठनले माग गरेका छन्।
गत चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको पुर्नवाहालीपछि शाहले कर्मचारीलाई सार्वजनिक ढंगले धम्क्याउने काम गरेको भन्दै ५ कर्मचारी संगठनले बिहीबार विज्ञप्ति जारी गरेर कारबाहीको माग गरेका हुन्।
‘बिहिवार, २१ गतेको घटना पछि प्रमुखको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले आचरण विपरित अनाधिकृत ढंगले सार्वजनिक सञ्चार माध्यममार्फत उपप्रमुखज्यु, वडाध्यक्षज्यु लगायतका सम्मानित व्यक्तिहरु समेतलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लघंन गरेको हुँदा निजलाई कानून बमोजिम हदैसम्मको कारवाही गरियोस्,’ विज्ञप्तिमा भनिएको छ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई महानगर प्रहरी प्रमुख पाण्डेको नेतृत्वमा कार्यलय छिर्न अवरोध गरिएको थियो। तर, उपमेयर, वडाध्यक्षहरु र कर्मचारीले कार्यालयको ढोका फोडेर गुरागाईँलाई कार्यालयमा प्रवेश गराएका थिए। त्यसपछि स्वकीय सचिव शाहले त्यसलाई लिएर कर्मचारीहरुलाई धम्क्याएको दाबी गरेका छन्।
कारबाहीको माग गर्ने कर्मचारी संगठनहरुमा स्थानीय तह कर्मचारी यूनियन नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ रहेका छन्।