दुर्गा प्रसाईंलाई कमान्डर तोक्नु नै गलत भयो: राप्रपा

 संवाददाता    २०८१, २१ चैत्र शुक्रबार १४:३८     233 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको कमान्डर तोक्दा ध्यान नपुगेको स्वीकारेका छन्।

शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राजवादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताएका हुन्।

त्यस्तै उनले राजतन्त्रलाई ‘भूत’ भनिएको भन्दै आपत्ति जनाए। ‘राजालाई किन भूत देख्नुहुन्छ? मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो। दुर्गा प्रसााईंलाई कमान्डर तोक्ने गतल कुरा हो, हुन सक्दैन,’ सांसद तामाङले भने, ‘२०१७ सालको जस्तो राजतन्त्रको कुरा बोल्ने बौलाहा हो।’

नेपालको संविधान गीता, बाइबल र त्रिपिटकजस्तो नभएकाले संशोधन गर्न सकिने उनको भनाइ छ। सांसद तामाङले आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीलाई थुनामा राखिएकोमा आपत्तिसमेत जनाए ।

बैठकमा गृहमन्त्री रमेश लेखक उपस्थित थिए। उनले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनबारे समितिलाई जानकारी गराएका थिए।

राजावादीको हिंसात्मक प्रदर्शनमा दुईजनाको मृत्यु भएको थियो। भीडलाई उक्साएको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशम्शेर राणालाई पक्राउ गरी थुनामा राखेको छ।