आँखामा खुर्सानीको धुलो छ्यापी सुन लुटपाट गर्ने युवक पक्राउ

 संवाददाता    २०८१, १८ भाद्र मंगलवार ०८:४२     69 जनाले पढ़िसके



Spread the love

रामेछापको लिखु तामाकोशी गाउँपालिका– ५ नागदहकी ६० वर्षीया सुन्तलीमै तामाङको आँखामा धुलो खुर्सानी छर्केर सुन लुटपाट गर्ने युवक पक्राउ परेका छन्।

गत साउन ३० गते वडा कार्यालयमा एकल महिला भत्ताका लागि कार्ड नवीकरण गरेर घर फर्कँदै गरेकी तामाङलाई सोही वडाको आइरन खोलामा ढुकी बसेका लिखु तामाकोशी गाउँपालिका– ५ नागदह आहालडाँकाका १९ वर्षीय चन्द्र घिसिङलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो।

वृद्धालाई फर्कँदै गरेको देखेपछि घिसिङले खोलामा एक्लै पारी आँखामा खुर्सानीको धुलो छर्केर उनले लगाएको डेढ तोला सुनको औँठी चोरी गरी फरार भएका थिए। उक्त घटनापछि वृद्धा कराएको आवाज सुनेपछि स्थानीय घटनास्थल पुगेका थिए। स्थानीयले उक्त घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जानकारी गराएसँगै खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घिसिङलाई सुनसहित शनिवार पक्राउ गरेको हो।

पक्राउ परेका घिसिङलाई प्रहरीले आइतबार डाँका मुद्दामा मुद्दा दर्ता गरी रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए।