नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२बिन्दुमा

 संवाददाता    २०८०, १० जेष्ठ बुधबार १६:५३     103 जनाले पढ़िसके



Spread the love
काठमाडौं। बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको सेयर मूल्य बुधबार उच्च भएको छ। प्रतिकित्ता २ हजार ७ सय ९० रुपैयाँले बढेर ३० हजार ७ सय ९० पुगेको हो। यो युनिलिभरको सेयरका लागि करिब ६ वर्ष यताकै सर्वाधिक उचाइमा पुगेको मूल्य हो।
यसअघि २०७४ भदौमा २९ गते सोही मूल्यमा युनिलिभरको सेयर कारोबार भएको थियो। यो कम्पनी नेपाली सेयर बजारमा ब्लुचिपका रूपमा परिचित छ।

पछिल्लो १० आर्थिक वर्षमा लगानीकर्तालाई ७०० प्रतिशत देखि १२ सय ७० प्रतिशतसम्म नगद लाभांश वितरण गर्दै आएको छ। त्यसैले यसको सेयर लगानीकर्ताको रोजाइमा पर्ने गरेको हो।

यस्तै मौद्रिक नीतिको समीक्षा तथा सरकारको नीति तथा कार्यक्रमले लगानीकर्तालाई निराश बनाए पनि बजेट नजिकिदै गर्दा सेयर बजार सकारात्मक भएको छ।

आज पनि सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ मा आइपुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ३.५८ अंकले बढेको छ।

मंगलबार बजार ५१.३२ अंकले बढ्दा २ अर्ब २० करोड बराबरको कारोबार भएको थियो।

आज पनि बजार सकारात्मक हुँदा कारोबार रकम १ अर्ब नाघेको छ। दिनभरको कारोबार अवधिमा २७० वटा सूचीकृत कम्पनीको १ अर्ब ८७ करोड बराबरको कारोबार भएको छ।

साढे १४ करोड बराबरको सेयर किनबेच भएको शिवम् सिमेन्ट कारोबारका आधारमा अग्र स्थानमा छ। यस्तै बुक क्लोजभन्दा अघिल्लो दिन भएकाले नेशनल लाइफ इन्स्योरेनसको पनि सेयर कारोबार बढेको छ। कम्पनीको ७ करोड ७४ लाख बराबरको कारोबार भएको हो।

बजार बढ्दा आत्मानिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै युनिलिभर नेपालको ९.९६ प्रतिशत र शिवमको सेयर मूल्य ६.७६ प्रतिशतले बढेको हो।