सिरहाको भगवानपुर गाउँपालिका-३ धाँतीस्थित नेपाल-भारत सीमावर्ती दशगजा क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको मदिरासहित भारतीय नम्बर प्लेटको कार सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार बिहीबार बिहान करिब ७ बजे सीमा सुरक्षा गुल्म हेडक्वार्टर इनर्वाबाट सशस्त्र प्रहरी निरीक्षक रामेश्वर रामको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले कार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार डिएल ७ च ९७९२ नम्बरको भारतीय नम्बर प्लेट भएको सेतो मारुती सुजुकी कारमा मदिरा लुकाइ भारततर्फ तस्करी गर्दै लगिँदै गरेको अवस्थामा गस्ती टोली पुगेपछि चालक कार र मदिरा छाडेर फरार भएका थिए।
बरामद मदिरामा ५८ कार्टुन कस्तुरी, ७ कार्टुन अर्ना क्यान बियर, ३ कार्टुन बाह्रसिङ्गे बियर तथा १३ बोतल ब्ल्याक ओक मदिरा रहेका छन्।
सशस्त्र प्रहरीले बरामद कारको अनुमानित मूल्य २० लाख रुपैयाँ र मदिराको मूल्य १ लाख २७ हजार २१० रुपैयाँ रहेको जनाएको छ। बरामद कार तथा मदिरा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको एसपी थापाले बताए।