जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आबेको स्वास्थ्य अवस्था गम्भीर भएको बताइएको छ । जापानको समाचार संस्था एनएचकेका अनुसार भाषण गरिरहेका उनलाई पछाडिबाट गोली हानिएको थियो । गोली लागेपछि उनी ढलेका थिए ।
आबेको शरीर रक्ताम्मे देखिएको थियो । समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।जापानमा हाते बन्दुक प्रतिबन्धित छ । त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ । टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्विट गर्दै आबे मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताएका छन् ।